कांग्रेसका अमियकुमारद्वारा उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

150
  •  
  •  
  •  

काठमाडौँ, १३ कात्तिक(ओएनएस) : नेपाली कांग्रेसका तर्फबाट सिराहाका अमियकुमार यादवले उपराष्ट्रपति पदकालागि उम्मेदवारी दर्ता गरेका छन् ।

संसद सचिवालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेस नेता चिनकाजी श्रेष्ठ र समर्थकमा इश्वरी न्यौपाने रहेका छन् ।

यस्तै, उपराष्ट्रपति पदमा स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले पनि उम्मेदवारी दर्ता गरेका छन् । मुसलमानको प्रस्तावकमा अखण्ड नेपाल पार्टीका कुमार खड्का र समर्थकमा जनजागरण पार्टीका लोकमणी ढकाल छन् । खड्का हिन्दू र ढकाल क्रिश्चियन धर्म मान्दछन् ।

संसद सचिवालयका अनुसार आज ११ बजेदेखी १ बजेसम्म उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिने छ । उम्मेदवारी दर्तापछि साँढे १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइने छ ।

यसपछि २ बजेसम्म उम्मेदवारीमाथी दावी तथा विरोधको समय रहने र उम्मेदवारी दर्ता गराएको भए पनि फिर्ता लिन चाहने उम्मेदवारलाई सचिवालयले समय समेत उपलब्ध गराएको सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । ३ बजे अन्तिम नामावली सार्वजनिक गर्ने संसद सचिवालयका सहायक प्रवक्ता कुँईकेलले जानकारी दिएका छन् ।


  •  
  •  
  •