काठमाडाैं, १२ असाेज (अाेएनएस) : संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्वकै लागि मौलिक उदाहरण भएकाे बताएका छन्। उक्त महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणकाे विश्वकै लागि मौलिक उदाहरण भएको बताए ।
प्रधानमन्त्री ओेलीले नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताए ।
उनले ‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए ।
उनले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रुपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को दृष्टिकोण अगाडि बढाएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले यसअघि सन् २००६ मा यस मञ्चबाट सम्बोधन गर्दा नेपाल ऐतिहासिक राजनीतिक सङ्क्रमणमा रहेको उल्लेख गर्दै वार्ता तथा छलफलका माध्यमबाट नेपालीले मुलुकमै बनेको, नेतृत्व दिइएको आफ्नै शान्ति प्रक्रियामा मौलिक रुपमा सफलता हासिल गरेको उल्लेख गरे । उनले नेपाली राजनीतिक परिवर्तन सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान भएको र यसले राज्यको पुनः संरचनामार्फत विविधतामा एकता प्रवद्र्धन गर्ने बताए ।
प्रधानमन्त्री ओलीले नेपालको संविधान सङ्घीय गणतन्त्रको संरचनामा प्रजातान्त्रिक राजनीति बलियो बनाउने कुरा मात्र नभई यसले जनतालाई विस्तृत अधिकार र स्वतन्त्रता दिएको बताए । उनले शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलन, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व यस संविधानको प्रमुख विशेषता भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्नु आफ्ना लागि महत्वपूर्ण काम भएको र गत वर्ष सङ्घीय, प्रान्तीय तथा स्थानीयस्तरको स्वतन्त्र, निष्पक्ष निर्वाचनबाट सम्पन्न हुनु संविधान कार्यान्वयनकै उदाहरण भएको बताए । उनले यस निर्वाचनबाट ४१ प्रतिशत महिला विभिन्न निकायमा आएको बताउँदै बाँकी नौ प्रतिशत रिक्त स्थान पनि पूर्ति गरिने बचनबद्धता प्रकट गरे ।