अमेरिकाले भन्यो : नयाँ संविधान लोकतन्त्रको कोसेढुङ्गा

282
  •  
  •  
  •  

nepal-america-flagकाठमाडौँ, ५ असोज(ओएनएस) : अमेरिकाले नेपालमा संविधान जारी भएकोमा बधाई दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नयाँ संविधान नेपालको लोकतान्त्रिक यात्राको कोसेढुङ्गा भएको जनाएको छ ।

विज्ञप्तिमा नेपाल सरकारले नेपाली जनताको चाहनालाई पूरा गर्दै अगाडि बढ्न सकोस् साथै जनतालाई अधिकारसम्पन्न गर्न सकोस् भन्ने कामना गरेको छ । विषेशगरी विश्वमा जारी मूल्य र मान्यतालाई ख्याल गर्दै लैंगिक समानता, धार्मिक स्वतन्त्रता र नागरिकताका विषयमा विषेश जोड दिन आग्रह गरेको छ ।

अमेरिकाले सम्पूर्ण नेपालीलाई लोकतान्त्रिक पद्धतीमा शान्तिपूर्ण रूपमा अगाडि बढ्न आग्रह गरेको छ । यस्तै, नेपालको सुरक्षा संयन्त्रलाई आफ्नो अधिकार मागिरहेका जनताप्रति संयम हुन समेत आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका नेपाली र नेपाल सरकारलाई नेपालको लोकतान्त्रिक बाटो र गत बैशाखमा गएको विनाशकारी भूकम्पबाट ध्वस्त भएका संरचना पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको छ ।’

यस्तै, संयुक्त राष्ट्र संघले नेपालमा संविधान जारी भएकोमा स्वागत गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनका प्रवक्ता स्टेफानी डुजारिकले विज्ञप्ति जारी गर्दै राजनीतिक नेतृत्वलाई राष्ट्रिय हितका लागि लचकता र समावेशीता अपनाउन आग्रह गरेका छन् ।

विज्ञप्तिमार्फत नेपालमा भइरहेको हिंसाप्रति चासो राख्दै संवाद र अहिंसाको बाटोमा लाग्न समेत जोड दिँदै शान्तिपूर्ण प्रदर्शन र भेला हुन पाउने अधिकारको सम्मान गर्न पनि मूनले आग्रह गरेका छन् ।


  •  
  •  
  •