काठमाडौं, २१ असार (एजेन्सी) । संयुक्त राज्य अमेरिका र जर्मनीले युक्रेनमा सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले दिगो युद्धविरामका लागि सहयोग गर्ने जनाएका हुन् । युक्रेनमा दिगो रूपमा युद्धविराम कायम गर्नका लागि आफूहरूको सहयोग रहने अमेरिका र जर्मनीले जनाएका हुन् । यसका लागि कूटनीतिक सहयोग गर्ने उनीहरूको भनाइ छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा र जर्मन चान्सलर एन्जेला मार्केलले सहयोग गर्ने बताएका हुन् । उनीहरूबीच बिहीबार भएको फोन वार्तामा अमेरिका र जर्मनीले युक्रेनमा शान्तिवार्ताका लागि दिगो रूपमा युद्धविराम गरिनुपर्ने भन्दै यसका लागि कूटनीतिक प्रयास आवश्यक रहेको बताएका छन् ।
उनीहरूले युक्रेनमा शान्ति स्थापनाका लागि सघाउन रूसलाई आग्रह गरेका छन् । उनीहरूले बिहीबार युक्रेनका राष्ट्रपतिसँग पनि फोन वार्तागर्दै रूसलाई युद्धविरामका लागि आग्रह गरेको बताएको हृवाइट हाउसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले गत मंगलबारमात्र करिब १० दिनलामो युद्धविरामको अन्त्य गरेका छन् । बुधबारमात्रै रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले युक्रेनका तर्फबाट युद्धविरामलाई निरन्तरता नदिइएमा शान्तिवार्ताका लागि आफूहरूले युक्रेनको पूर्वी क्षेत्रका विद्रोहीलाई मनाउन नसक्ने बताएका छन् ।
उता, फ्रान्स र जर्मनीका राष्ट्रपतिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका बारेमा गम्भीर बन्न बिहीबारमात्र आग्रह गरेका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिरि पुटिनलाई फ्रान्सको पेरिसमा बिहीबार आयोजित कार्यक्रममा उनीहरूले पूर्वी युक्रेनमा रूस समर्थित विद्रोहीलाई वार्तामा ल्याउने भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
उनीहरूले रूसको समर्थनमा रहेका पूर्वी युक्रेनका पृथकतावादीका कारण त्यहाँको अवस्था अत्यन्तै नाजुक भएको भन्दै उनीहरूलाई युक्रेनसँगको शान्तिवार्ताका लागि तयार पार्ने काममा आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गरेका हुन् ।
उता युक्रेनले भने समस्या समाधानका लागि शान्ति योजनाको प्रस्ताव गर्दै सुरु गरेको एकतर्फी युद्धविरामको अन्त्य गर्नुपरेको भन्दै यसका लागि रूसको सहयोग नरहेको बताएका छन् । गत अप्रिल महिनादेखि सुरु भएको हिंसाले करिब चार सय जना नागरिकको मृत्यु भएको छ । हिंसालाई उक्त राष्ट्र स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको रूपमा लिइएको छ ।
पूर्वी युक्रेनमा पृथकतावादीले सशस्त्र विद्रोह जारी राखेका छन् । पूर्वी युक्रेनमा रूसली समर्थक युक्रेनीले गरेको विद्रोह दबाउनका लागि युक्रेनले सैनिक कारबाही पनि सुरु गरेको छ ।
विद्रोहीले जनमतसंग्रह माग गरिरहेका छन् । उनीहरूले आत्मनिर्णयको अधिकारको मागगर्दै रूसमा उक्त क्षेत्रको विलयका लागि आफ्नो संघर्ष सुरु भएको उनीहरूको भनाई छ । तर, युक्रेन यसको विरुद्धमा छ । उसले यसअघि क्रिमियामा भएको रूसमा गाभिने निर्णयलाई पनि अवैध भन्दै पूर्वी युक्रेनमा पनि त्यसको निर्णय हुन नदिने युक्रेन सरकारको अडान रही आएको छ ।