अमेरिकी निर्वाचनः नतिजा आउन शुरू

101
  •  
  •  
  •  

एजेन्सी । अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजा आउन शुरू भएको छ । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।

बहालवाल राष्ट्रपति रिपब्लिकन डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ । हरेक राज्यको जनसंख्याको आधारमा इलेक्टोरल कलेजको मत निर्धारित हुन्छ ।

जित्नका लागि उम्मेदवारले कम्तीमा २ सय ७० इलेक्टोरल कलेजको मत पाउनुपर्ने हुन्छ । यो पटक अमेरिकी मतदाताले कङ्ग्रेसका लागि नयाँ सदस्य पनि छान्दैछन् । ७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन् ।

त्यसबेला जर्ज एचडब्लु बुस एक कार्यकाल मात्रै निर्वाचित भएका थिए । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावको पुर्ण नतिजा आउन भने एक साता लाग्ने अनुमान गरिएको छ ।
यसैबीच चुनावका दिनमै अमेरिकाभर सबैको फोनमा ‘घरैमा बस्‍नू, सुरक्षित बस्‍नू’ भनेर गरिएको एक शंकास्पद ‘अटोमेटेड रोबोकल’ सम्बन्धी अहिले एफबीआईले अनुसन्धान गरिरहेको छ । लाखौँ मानिसको मोबाइलमा त्यस किसिमले रोबोटको आवाजमा फोन आएको खबर छ ।

यस वर्षको चुनावलाई इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक भएकाले पनि प्रत्येक मतदाताको उपस्थिति महत्त्वपूर्ण मानिएको छ । यसैकारण त्यस किसिमले मानिसहरुलाई चुनावकै दिन झुक्याउने प्रयास गर्नुलाई अधिक चिन्ताजनक मानिएको छ । यसको उत्पतिबारे विशेष अनुसन्धान भइरहेको बताइएको छ तर हालसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन ।


  •  
  •  
  •