अमेरिकाले भारतबाट हुने अधिकांश यात्रामा प्रतिबन्ध लगायो

50
  •  
  •  
  •  


एजेन्सी । भारतबाट हुने यात्रामा अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

भारतबाट अमेरिकामा हुने यात्रामाथिको प्रतिबन्ध आउँदो मंगलबार अर्थात मे ४ देखि लागु हुने ह्वाइट हाउस प्रवक्ता जेन साकीले बताएकी छन् ।

भारतमा संक्रमणको अवस्था अति भयानक रहेको र त्यहाँ देखिएका नयाँ भेरियन्टलाई लिएर पनि चिन्ता थपिएको प्रवक्ता साकीले बताइन् ।

अमेरिकी नागरिक तथा कानूनी रुपमा स्थायी बसोबासको स्वीकृति पाएकाहरु र नियम पूरा गरेर यात्रा छुट दिने व्यवस्था रहेका बाहेकलाई भारतबाट अमेरिका आउन रोक लगाउने उनले बताएकी छन् ।

उनले भेनकी छन्, ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को सल्लाहमा अमेरिकाले भारतबाट हने यात्रामा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतमा कोरोना भाइरसका नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा भइरहेको छ । प्रतिबन्ध मे ४ देखि लागु हुने छ ।’

यसअघि अमेरिकाले गएको बिहीबार भारतको सहयोगका लागि १० लाख डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको थियो ।

भारतमा हाल कोरोना भाइरस महामारीको दोस्रो लहर गम्भीर अवस्थामा पुगेको छ । शुक्रबार एकै दिन भारतमा तीन लाख ८६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको थियो भने ३४ सय ९८ जनाको ज्यान गएको थियो ।

अमेरिकाले भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसअघि अत्यावश्यक अवस्था बाहेकमा भारतको यात्रा नगर्न सुझाव दिएको थियो ।


  •  
  •  
  •