अमेरिकामा सोमबारदेखि कोभिड-१९ विरुद्धको खोप लगाउन शुरु गरिने

406
  •  
  •  
  •  

एजेन्सी । अमेरिकामा सर्वसाधारणले सोमबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । कोभिड–१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोनाभाइरस खोप आपत्‌कालीन प्रयोगका लागि अनुमति दिएसँगै सोमबारदेखि अमेरिकामा खोप लगाउन शुरु गर्न लागिएको हो ।

यो सप्ताहन्तमा पहिलो ३ करोड मात्रा खोप सबै राज्यहरूमा पठाइएको खोप वितरणको जिम्मेवारी पाएका जेनरल गुस्ताभ पर्नाले जनाएका छन् । यो खोप कोभिड–१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले सुरक्षित ठहर गरेको छ।

कोरोनाका कारण शनिवारमात्रै अमेरिकामा सर्वाधिक ३,३०९ जनाको मृत्यु भएको थियो। उक्त सङ्ख्या जोन्स हप्किन्स विश्वविद्यालयले रेकर्ड गरेकोमध्ये संसारभरकै एकदिनमा उच्च मृत्यु हो। अमेरिकामा नोभेम्बर यता कोरोनाभाइरसका कारण हुने मृत्यु तीव्र गतिमा बढिरहेको छ।

ट्रम्प प्रशाशनले कडा दबाव दिएपछि एफडीएले फाइजर खोपलाई आपत्‌कालीन प्रयोगका लागि शुक्रबार अनुमति दिँदै भनेको छ, ‘महामारीमा यो महत्वपूर्ण प्रगति हो।’ शनिवारको प्रेस सम्मेलनमा जनरल पर्नाले भने, ‘अबको २४ घण्टामा खोप विभिन्न स्थानमा पठाइनेछ।’

‘१४५ स्थानमा सोमवार खोप प्राप्त हुने, ४२५ स्थानमा मङ्गलवार प्राप्त हुने र ६६ स्थानमा बुधवार प्राप्त हुने अपेक्षा छ,’ उनले आगामी हप्ता फाइजर खोपको पहिलो वितरण सम्पन्न हुने र त्यसले ३ करोड मानिसलाई खोप लगाउन पुग्ने बताए।


  •  
  •  
  •