अमेरिकाद्वारा डब्लूएचओबाट बाहिरिने प्रक्रिया शुरू

52
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट निकाल्ने औपचारिक प्रक्रिया शुरू गरेका छन् ।

मेको अन्तिममा डब्लूएचओले कोरोना भाइरसका विषयमा चीनको समर्थन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपतिले उक्त संगठनबाट बाहिरिने घोषणा गरेका थिए ।

युरोपेली संघ तथा अन्यले ट्रम्पलाई यस निर्णयमा पुनर्विचार गर्न आग्रह गरे पनि उनले अस्वीकार गर्दै आएका छन् । उनले डब्लूएचओलाई दिँदै आएको सहयोेग अन्त कतै प्रयोग गर्ने बताउँदै आएका छन् ।
अमेरिकी राष्ट्रपतिले संयुक्त राष्ट्रसंघ र अमेरिकी संसदलाई औपचारिक रूपमा यस बारे जानकारी गराइसकेका छन् ।

अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिर आउने प्रक्रिया पूरा हुन एक वर्ष लाग्ने छ । यसलाई पुष्टि गर्दै संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टीफनले अमेरिकाले डब्लूएचओबाट फिर्ता लिने सूचना दिएको बताए । उनका अनुसार जुलाई २०२१ बाट मात्रै अमेरिका बाहिरिन पाउने छ ।

अमेरिकी सांसद र विदेशी सम्बन्ध समितिका वरिष्ठ सदस्य डेमोक्रयाट सिनेटर रोबर्ट मेनेन्डिजले ट्विट गरेर भनेका छन्, “अमेरिकी राष्ट्रपतिले महामारीको बीचमा विश्व स्वास्थ्य संगठनबाट आधिकारिक रूपमा हटाएको कुरा कांग्रेसले प्राप्त गरेको छ । यस पछि अमेरिकाका मानिस बिरामी हुनेछन् र अमेरिका एक्लै हुनेछ ।”

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई लागु गर्न चाहेको सुधारको विस्तृत विवरण दिए पनि संगठनले अस्वीकार गरेको अमेरिकी वरिष्ठ सरकारी अधिकारीले सीबीएस न्यूजलाई बताएका बीबीसीले जनाएको छ ।

अमेरिका डब्लुएचओमा सबैभन्दा ठूलो आर्थिक सहयोग गर्ने देश हो । सन् २०१९ मा अमेरिकाले डब्लुएचओलार्य ४०० मिलियन डलर भन्दा बढी प्रदान गरेको थियो, जुन डब्लुएचओको कुल बजेटको झण्डै १५ प्रतिशत हो ।


  •  
  •  
  •