अमेरिकामा ४ नेपालीमा कोरोना संक्रमण

101
  •  
  •  
  •  

एजेन्सी । अमेरिकामा ४ जना नेपालीलाई कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना न्युयोर्कको ज्याक्सन हाइट निवासी हुन् । अर्का एक जना भर्जिनिया राज्यकी बासिन्दा हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँले आफ्नो फेसबुक पाेस्ट मार्फत चार जनामा कोरोना पुष्टि भएको उल्लेख गरेका छन् ।

उनका अनुसार न्युयोर्कका संक्रमित दुई जनाको अवस्था गम्भीर छ ।  अमेरिकामा हालसम्म संक्रमित संख्या ४३ हजार नाघेको छ भने ५६४ जनाको ज्यान गइसेको छ ।

अमेरिकाका सबै ५० राज्यमा फैलिएको संक्रमण मध्ये सबैभन्दा बढी आक्रान्त बनेको न्युयोर्कमा मात्रै संक्रमित संख्या २० हजार नाघेको छ । न्युयोर्क, क्यालिफोर्निया, ओहायो, न्युजर्सी, मिसिगन, मासाचुसेट्स, वेष्ट भर्जिनिया लगायतका १२ राज्यमा स्टे होम अर्डर जारी गरिसकिएको छ ।

यसबीचमा अमेरिकी सिनेटमा रिपब्लिकनले ल्याएको प्रत्येक करदातालाई १२ सय डलर दिने राहत प्याकेज परिमार्जित गर्दै डेमोक्र्याटले वेरोजगारदेखि सेवानिबृत्तसम्म हरेकलाई १५ सय डलरदिने प्याकेजसहितको बिल तयार गरेका छन् ।


  •  
  •  
  •