एम्बुलेन्स सेवामा महानगरको सहकार्य, जेष्ठ नागरिकलाई नि:शुल्क सेवा

272
  •  
  •  
  •  

काठमाडाैं, १६ वैशाख (ओएनएस) : आकस्मिक स्वास्थ्य सेवाको अभावमा हुने मानवीय क्षति कम गराउन काठमाडौं महानगरपालिकाले नेपाल एम्बुलेन्स सेवासँग सहकार्य थालेको छ।

काठमाडौंको राष्ट्रिय सभा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले संयुक्त व्यवस्थापनमा एम्बुलेन्स सेवा (अस्पताल पूर्व आकस्मिक स्वास्थ्य सेवा) सञ्चालन तथा व्यवस्थापनका लागि सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि काठमाडौंमा भएका ६ वटा एम्बुलेन्समा महानगरका प्रमुख र उपप्रमुखले ‘महानगरको सहकार्यमा सञ्चालित एम्बुलेन्स सेवा’ लेखिएको स्टिकर टाँसेर सहकार्य शुभारम्भ गरिएको थियो ।

नेपाल एम्बुलेन्स सेवाका  पूर्वअध्यक्ष डा. राजेश गोङ्गुले यस अवधिमा ३५ हजार ५ सय व्यक्तिलाई सुरक्षित सेवा प्रदान गर्ने क्रममा ४७ जना आमाले एम्बुलेन्सभित्रै सुत्केरी गराइएको बताए।

२०६८ वैशाख १ गतेदेखि काठमाडौंमा शुरुवात् गरिएको यो सेवा अहिले चितवन, पोखरा र बुटवलमा पनि सञ्चालनमा छ । यसमा सेवा लिन १०२ नम्बर मा फोन गर्नुपर्छ । एम्बुलेन्सले अहिलेसम्म सास फेर्न गाह्रो भएका, बेहास भएका, दुखाइ धेरै भएका, गर्भवती महिला र चोटपटक लागेको बिरामीलाई सेवा दिएको छ । २०७२ साल बैशाख १२ को भूकम्पछिको एक हप्तामा ७ सय २७ बिरामीलाई सेवा दिएको थियो ।

यसप्रकारको सहकार्यबाट अब बिरामीले एम्बुलेन्स आएपछि दक्ष जनशक्ति र प्रारम्भिक स्वास्थ्य उपचारका लागि औषधि र उपकरण प्राप्त गर्नेछन् । यसका लागि आकस्मिक सेवाका आवश्यक प्रविधि, औषधि तथा उपकरणसहितको एम्बुलेन्समा आकस्मिक सेवामा तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी परिचालन हुनेछन् ।

जनशक्ति र उपकरणसहित एम्बुलेन्स बिरामीकोमा पुग्नासाथ उपचार शुरु हुनेछ । यसो भएपछि अहिले घर र अस्पतालका बीचमा उपचारका अभावमा मृत्यु वरण गरिरहेका बिरामीको संख्यामा कमी आउनेछ ।

सम्झौताबमोजिम ७० वर्ष पूरा भएका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई यो सेवा निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै वडा कार्यालयको शिफारिसमा बिपन्न, गरिब र बेसहारा व्यक्तिहरुलाई पनि निःशुल्क सेवा दिइनेछ ।

यो सम्झौता आगामी ५ बर्षका लागि गरिएको हो । सेवा सञ्चालन गर्न महानगरले एम्बुलेन्स सेवालाई मासिक प्रति एम्बुलेन्स एक लाख बीस हजार रुपैयाँ अर्थात् १० वटालाई १२ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसका लागि महानगरको चैत्र २१ गतेको कार्यपालिका बैठकले निर्णय गरेको थियो । त्यस्तै चैत्र २४ गते सम्पन्न नगरसभाले एम्बुलेन्स सञ्चालनका लागि बजेट र सहकार्यलगायत बिषयमा निर्णय गरेको थियो ।


  •  
  •  
  •