बेसिशहर, १८ मंसिर(ओएनएस) । पूर्वी लमजुङमा निर्माणधिन माथिल्लो दोर्दी–‘ए’ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
माथिल्लो दोर्दी ए सरोकार तथा समन्वय समितिको नाममा आयोजनाको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत खरिद गरिएको एम्बुलेन्स संघीय सांसद देबप्रसाद गुरुङ र आयोजनाका अध्यक्ष कुशकुमार जोशीले संयुक्त रुपमा स्थानीयलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा सांसद गुरुङले एम्बुलेन्सको सही सदुपयोग गर्न स्थानीयलाई आग्रह गरे । आयोजनाका अध्यक्ष कुशकुमार जोशीले प्रभावित क्षेत्रका नागरीकले अबदेखि समस्या भोग्न नपर्ने बताए ।
आयोजना सरोकार समितिका अध्यक्ष चिनबहादुर गुरुङले आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी एम्बुलेन्स खरिद गर्नु स्वागतयोग्य कार्य भएको बताए ।
एम्बुलेन्सबाट दोर्दी गाउँपालिका वडा नं–६ ढोडेनी, ७ फलेनी र ८ बन्सारका नागरिक साथै सिङगो गाउँपालिका लाभान्वित हुनेछन् । सरोकार समितिका सचिव धर्म गुरुङले १० लाख १५ हजार रुपैयाँ एम्बुलेन्स खरिद गरिएको बताए ।
आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व बहन गर्नका लागि छरछिमेक कार्यक्रम मार्फत ६ करोड रुपैयाँ बिनियोजन भएको बताए ।
छरछिमेक कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रमा सरोकार समितिमार्फत सडक, शिक्षा, खानेपानी र स्वास्थ्य क्षेत्रमा आयोजनाले खर्च गर्दै आएको छ ।
दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनी र ७ फलेनीमा निर्माण गरिएको आयोजनाले तल्लो सिमिस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट ५ हजार ४ सय ५७ मिटर तल मालेबगरमा निर्माण गरिएको विद्युतगृहमा लगेर पानी खसाल्नेछ । आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
२ दशमलव ५ मेगावाट क्षमताका २ वटा पेल्टन टर्बाइन रहने यस आयोजनामा हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र बर्खाको समयमा ४ रुपैयाँ ८० पैसा रहने गरि प्रबर्द्धक कम्पनी लिवर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्रि सम्झौता (पीपीए) भएको हो । २०७१ देखि शुरु गरिएको आयोजनाको कुल २ हजार ६ सय २३ मिटर लामो भुमिगत सुरुङ निर्माण सम्पन्न भएको छ ।
आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत प्रवद्र्धकहरुको इक्वीटी लगानी रहेको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाईमा नेपाल बैंक, ग्लोबल आईमई बैंक, प्रभु बैंक लगायतका बैंककाे लगानी छ ।