परराष्ट्रमन्त्रीको सूचीमा प्रधानमन्त्रीको कैंची

90
  •  
  •  
  •  

भूवन क्षेत्री

काठमाडौं ४ भदौ (ओएनएस)  : सरकारले आगामी मन्त्रिपरिषद बैठकबाट राजदतु नियुक्त गर्ने तयारी गरे पनि सरकार रहेका दलहरूबीच नै विवाद देखिएको छ । तत्काल परराष्ट्र सेवामा रहेकालाई मात्रै नियुक्त गर्ने वा राजनीतिक सहमतिमा दुईटैलाई मिलाएर एकैचोटी गर्ने भन्नेमा कुरा मिलेको छैन ।
परराष्ट्र सेवामा रहेको १६ सह–सचिव मध्येबाट ६ जनाको नाम छनोट गर्नुपर्ने भएकाले परराष्ट्रमन्त्रीले आफु अनुकुल नाम छान्न खोजेको भन्दै कांग्रेसले असहमति जनाएको छ । प्रधानमन्त्री सुशील कोइरालाले केही व्यक्तिलाई राजदुत बनाउनुपर्ने नामसहित कांग्रेसबाट परराष्ट्रमन्त्री महेन्द्रपाण्डेसँग छलफल गर्न सूचना तथा सन्चारमन्त्री मिनेन्द्र रिजाललाई जिम्मा दिएका छन् ।

परराष्ट्रमन्त्री पाण्डेले परराष्ट्रसेवामा रहेका ६ जनाको नाम अघि सारेका छन् । मन्त्रीले तयार गरेका नामहरूमा खगराज अधिकारी, अम्बिका लुइटेल, अमृत राई, कालीप्रसाद पोखरेल अर्जुकान्त मैनाली, रमेश खनाल र यज्ञ हमाल रहेका छन् । खनाल र हमालमध्येबाट एकजना हुनुपर्ने मन्त्री रिजालको प्रस्ताव छ । दिपक धितालको नाम पनि अघि सारिएको छ । मन्त्रिपरिषदमा प्रस्ताव लैजानुअघि नै केही नाममा विषयमा विवाद भएको छ ।

प्रधानमन्त्री कोइरालाले दुर्गाबहादुर सुवेदीको नाम राख्न मन्त्रीपाण्डेलाई दवाव दिएका छन् । सुवेदी परराष्ट्रसेवामा रहेका १३ नम्बरको सूचीका सहसचिव हुन । परराष्ट्र सेवामा १६ सहसचिव छन् । पाण्डेले उनीभन्दा बरिष्ठ अरु भएकाले सुवेदीलाई राजदुत बनाउन नमिल्ने अडान राखेका छन् । सन्चारमन्त्री रिजालले भने परराष्ट्रमन्त्रालयले प्रस्ताव ल्याएपछि मन्त्रिपरिषदमा छलफल हुने तर, त्यसअघि विवाद नभएको दावी गरे । ‘राजदुत नियुक्तको प्रस्ताव सम्बन्धित मन्त्रालयले ल्याए पनि नियुक्ती सरकारले गर्ने हो’ मन्त्री रिजालले भने, ‘कसैका नाममा राय राख्नु सामान्य हो त्यसलाई विवाद भन्न मिल्दैन ।’

१५ वटा देशमा राजदुत खाली छन् । राजदुत नियुक्तिमा डिप्लोम्याटिक करिअर अन्तर्गत परराष्ट्र सेवामा रहेका ५० प्रतिशत र राजनीतिक नियुक्ति ५० प्रतिशत गर्दै आएको छ । झण्डै तीन वर्षदेखि छिमेकी मित्रराष्ट्र भारतमा राजदुत नियुक्ति हुन सकेको छैन । अमेरिका, बेलायत, थाल्याण्ड इजिप्ट, जर्मन, ब्राजिल, क्यानाडा, श्रीलंका, कतार र कुवेतमा राजदुत रिक्त छ ।

सरकारले राजदूत चयनलाई प्राथमिकतामा राखेपछि नेपाली कांग्रेस र एमालेनिकट बुद्धिजिवीहरूको राजदूत बन्ने दौड सुरु भइसकेको छ । दौडमा एमालेबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालका विदेश मामिला सल्लाहकार मिलन तुलाधर, गैरसरकारी संस्था महासंघका पूर्वअध्यक्ष अर्जुन कार्की, पूर्वसचिवद्वय गोविन्द कुसुम, वृन्दा हाडा प्रतिस्पर्धामा छन् भने कांग्रेसबाट प्रधानमन्त्रीका सल्लाहाकार उद्धव भट्टराई र चिरञ्जीवी नेपाल, योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेल अगाडि छन् । एकीकृत नेकपा माओवादी र मधेसी दललाई पनि भागबण्डामा पार्नुपर्ने छ । भारतमा राजनीतिक तहबाटै राजदुत बनाउनुपर्ने गर्दै दीपकुमार उपाध्यायको नाम कांग्रेसले अघि ल्याएको छ । गैरराजनीतिबाट गर्दा भीम उदासको नाम अघि सारिएको छ ।


  •  
  •  
  •