बजारमा ‘सरम हराएको सहर’

136
  •  
  •  
  •  

काठमाडौं /  कवि अजम्बरध्वज खातीद्वारा रचित ‘सरम हराएकोे सहर’ नामक कविता संग्रह लोकार्पण भएको छ । सुब्बेनी आमा रतनबाई खाती प्रतिष्ठान, बुटवलद्वारा काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीले सो कृति लोकार्पण गर्नुभएको हो ।

अशोक स्तम्भ, चिहानबाट उठेको जुलुस, खैंजडीमा खरानीका गीतहरु, सिंहदरबार र बहादुर रगत लगायत शीर्षकका ६४ कविता समाविष्ट सरम हराएको सहर लोकार्पणका अवसरमा कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् जोशीले २१औं शताब्दीको साहित्यिक मोड र धारहरु प्रस्तुत कृतिले एक झल्को दिएको तर स्वाद चाहिँ कविताको विकासक्रमले पस्केको बताउनुभयो ।

प्रसिद्ध साहित्यकार डा. मोदनाथ प्रश्रितले कृतिले सहरका धेरै पक्षहरुलाई चिनाएको बताउनुभयो । सहरमा व्याप्त भ्रष्टाचार, सहरमा हराएको सुन्दरता अनि सहरमा नभेटिने मानवताका पक्षहरुलाई कवि खातीले सुन्दर रुपमा कृतिमा उतारेको प्रश्रितको विवेचना थियो ।

भूमिकाकार गोविन्दराज भट्टराईले कवि खाती प्राकृतिक लेखन शक्ति भएका शक्तिशाली कवि भएको भन्दै लोकार्पित कृतिले नागर जीवनको शुष्कता, हृदयहीनता र निमुखा असहायहरुको दुर्गति देखाएको उल्लेख गर्नुभयो । यी सबैको जिम्मेवार देशको ब्यवस्था एवं राजनीति भएकै कारणले गर्दा यसका सञ्चालकहरुप्रति नै कविले आक्रोश र व्यङ्ग्य प्रकट गरेको भट्टराईले बताउनुभयो ।

उमेर र साधना दुबैले प्रौढ बनेका कवि खातीले जीवनका अनुकुल प्रतिकूल भोगाइका अभिलेखहरु यस कविता संग्रहमा सञ्चित गरिएको कृतिको टिप्पणीकारहरुले बताउनुभयो । वि.स.१९९२ मा जन्मेका कवि खातीले २०१२ मै पहिलो कृति बटुवा प्रकाशित भएको थियो ।

कृतिकार खातीले कविताको अहिले बजार नभएको बेला पनि आफूले कविताको ग्रन्थ ल्याउँदा सबै छक्क परेको बताउँदै आफूले देखेभोगेका सहरका कथाहरुलाई कवितामा उन्ने प्रयास गरेको बताउनुभयो ।

लोकार्पण कार्यक्रममा समालोेचक प्रा.डा.खगेन्द्र लुइटेलले लोकार्पित कृतिको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार माया ठकुरीे, प्राध्यापक तुलसी भट्टराई, डा. मुरारि पराजुली, डा. हिरण्य ज्ञवाली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।


  •  
  •  
  •