प्रहरीद्वारा वरिष्ठ संगीतकार गुरुङलाई सम्मान

177
  •  
  •  
  •  

काठमाडौँ, १२ जेठ(ओएनएस) : नेपाल प्रहरीले संगीतकार अम्बर गुरूङलाई सम्मान गरेको छ । संगीतकार गुरूङलाई बुधबार बुढानिलकण्ठ नगरपालिका-६ स्थित उनकै निवासमा नगद ५ लाखसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

गुरुङलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मान गरेका हुन् । कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले गुरुङ्गले नेपाली संगीतमा दिएको योगदानको कुनै रकमसँग तुलना नहुने भन्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तै, अम्बर गुरुङ्ग र उनको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तत्पर रहेको उनले बताए ।

संगीतकार गुरुङले आफ्नो सम्पूर्ण जीवन संगीत साधनामा बिताएको स्मरण गर्दै नेपाल प्रहरीले दिएको सम्मानका लागि नेपाल प्रहरीप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

विगत लामो समयदेखि आफ्नो निरन्तर साधनाको माध्यमबाट नेपाली संगीतको क्षेत्रमा बिशेष योगदान दिई विभिन्न गीतिनाटक तथा कालजयी गीतहरुलाई संगीतले सिंगारेका गुरुङले मुलतः नेपालको राष्ट्रिय धुन सिर्जना गरी नेपाली राष्ट्रियतालाई उचाईमा पुर्‍याएका छन् ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगाएत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।


  •  
  •  
  •