उच्चस्तरीय राजनीतिक समितिको अडान छोड्दैनौं–प्रवक्ता शर्मा

76
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ (ओएनएस) : एकीकृत नेकपा माओवादीले उच्चस्तरीय राजनीतिक समितिको अडान नछोड्ने भएको छ । एमाओवादीले यसअघि भईसकेको सहमति कार्यान्वयन गर्न मात्र आग्रह गरेका भन्दै समिति गठनबाट कांग्रेस एमाले भाग्न नपाउने बताएको   हो ।

पार्टी कार्यालय कोटेश्वरमा नियमित पत्रकार भेटघाटमा एमाओवादी प्रवक्ता दीनानाथ शर्माले भने,‘ त्यो बेला हामीले गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा संयन्त्र बनाउन मानेकै हो, यो पनि सहमति भएकै विषय हो यसमा एमाओवादी लचिलो बन्नै सक्दैन ।’ शर्माले सरकार परिवर्तनबारे पार्टीभित्र कुनै छलफल नभएको भन्दै यसमा आफूहरुको चासो पनि नभएको दाबी गरे ।

‘४ बुँदे कार्यान्वयन सरकार सकारात्मक’

उच्चस्तरीय राजनीतिक समिति गठन लगायतका विषय समेटिएको ४ बुँदे सहमति कार्यान्वयनमा सरकार सकारात्मक देखिएको प्रवक्ता शर्माको भनाई छ ।

उनले भने,‘ ४ बुँदे सहमति कार्यन्वयन गर्ने विषयमा सरकारले सकारात्मक छौं भनेको छ र यसका लागि पहल पनि भईरहेको छ । ’ सहमति कार्यान्वयन नभएको भन्दै एमाओवादी र मधेशवादी दलले लागातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

‘समय थपेर सहमति खोजौं’

प्रवक्ता शर्माले संविधान निर्माणका अन्तरवस्तुमा सहमति खोज्नुपर्ने बताए । उनले भने,‘ केही विवादित विषयमा अझै छलफल आवश्यक देखिएको छ । संविधान जारी गर्ने मितिलाई असर नगर्ने गरि सहमति खोज्नुपर्छ ।’

उनले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई थप समय दिएर संविधानका विवादित विषयमा छलफल गर्नुपर्ने बताए । उनले भने,‘समिति सभापतिले पनि भन्नुभएको छ कि पानी तातिएको छ तर उम्लिएको छैन त्यसैले केही समय प्रयास गरेर पानी उम्लन दिउँ ।’


  •  
  •  
  •