निर्देशक आलोक नेम्वाङको निधन(अन्तिम इन्टरभ्युसहित)

393
  •  
  •  
  •  

फिल्म तथा म्युजिक भिडियोका चर्चित निर्देशक आलोक नेम्वाङको निधन भएको छ । नेम्वाङ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । धापासीस्थित घरमा झुण्डिएर मृत अवस्थामा उनी फेला परेको आफन्तले जनाएका छन् । विहीबार राति ८ बजे उनी मृत फेला परेका हुन् । उनको फिल्म ‘सानो संसार’ चर्चित फिल्म हो । त्यसैगरी ‘ कोही मेरो’ र रिलिजको क्रममा रहेको ‘अझै पनि’ गरी तिनटा फिल्म निर्देशन गरेका छन् ।
आधुनिक गीतका म्युजिक भिडियोमा सबैभन्दा धेरै लोकप्रिय निर्देशक हुन् । उनले दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका छन् ।

पढ्नुहोस् अन्तिम इन्टरभ्यु

मान्छेका आ–आफ्नै जिउने कला हुन्छन्, ढंग हुन्छन्। निर्देशक आलोक नेम्वाङ पनि आफ्नै तरिकाले बाँच्छन्। एक्लै बस्छन्। सडकमा भेटिएका फोहोरी, लुते कुकुर र बिराला उठाएर घरमा लैजान्छन्। तिनको स्याहार गर्छन्। उनलाई आफ्नै घर र आफ्नै साथ प्यारो लाग्छ। उनलाई हाल चलिआएको शब्दावलीमा ‘अल्टर’ अर्थात् भिन्न खालको भन्न सकिन्छ। उनी यसलाई स्विकार्छन् पनि। ‘कसको आँखा लाग्यो बरै’, ‘न बिर्सें तिमीलाई’ जस्ता गीतका म्युजिक भिडियो बनाएका आलोकले ‘सानो संसार’, ‘कोही मेरो’ जस्ता फिल्म निर्देशन गरेका छन्। उनीसँग सजना बरालले गरेको अन्तरंग कुराकानी :


 Alok_Nimang
घर सर्नु भएछ
सरेँ। धेरै वर्ष भाटभटेनी बसियो। पहिले–पहिले त्यो एरिया शान्त थियो। रमाइलो लाग्थ्यो। अचेल हल्लाखल्ला बढी हुन्छ। मलाई कोलाहल मन पर्दैन। शान्त ठाउँमा एक्लै बस्न रुचाउँछु। मान्छेहरू आउजाउ गरेको पनि त्यति मन पर्दैन। त्यहाँ छँदा धेरैले मेरो घर चिनेका थिए। त्यसैले, आउजाउ बढी हुन थाल्यो। मैले आफूलाई टाइमै दिन सकिनँ। निस्सासिएजस्तो भयो। त्यसैले त्यो ठाउँ छोडेँ। नयाँ घर शान्त ठाउँमा छ। आनन्द लाग्छ।
घरमा एक्लै बस्नुहुन्छ। दिन काट्न गाह्रो हुँदैन?
कुकुर, बिरालो पालेको छु। बंकी, न्होलो, अल्छी, मैली र सल्टी गरी पाँचवटा कुकुर–बिराला छन्। यिनीहरूसँगै खेलेर बस्छु। यिनीहरूकै हेरचाह गर्छु। केही पाइनँ भने एक्लै धुमधुमती बस्छु। त्यसो गर्न पनि रमाइलो लाग्छ। घरको सरसफाइ आफैँ गर्छु। समय बिताउन गाह्रो छैन। बरु, म त कहिले काम सकिएला र घर गएर एक्लै बसौँला भनेर कुरिरहन्छु। मलाई मेरो साथ प्यारो लाग्छ।
 
सबै कुकुर, बिराला किनेरै ल्याउनु भएको हो?
होइन। मैले यिनीहरूलाई सोखले पालेको पनि होइन। म त ‘मी टाइम’ धेरै चाहिने मान्छे भएकाले जीवजन्तु केही पाल्दिनँ, फुक्काफाल भएर बाँच्छु भन्ने सोचमा थिएँ। तर, यिनीहरू सडकमा बेहाल भएर हिँडेको देखेपछि मन थाम्न सकिनँ। घर ल्याएँ। सल्टीलाई इमेज एफएममा छँदा नै फेला पारेको हुँ। एकदम लुते, जीउभरी खटिरा भएको अवस्थामा अफिसअगाडि आएको थियो। साह्रै माया लाग्यो। उठाएर घर ल्याएँ। बंकी बिरालोलाई चाहिँ तीन महिनाअघिमात्रै भेट्टाएको हुँ। यो पनि खान नपाएर हाड र छालाको मात्रै थियो। अहिले मोटाएर ढुस्स भा’छ।
जनावरको त्यस्तो माया लाग्छ?
एकदमै माया लाग्छ। मलाई मान्छेमा त्यति लगाव छैन। तर, पशुपक्षीप्रति भयंकर अट्याचटमेन्ट छ। यिनीहरूको दुःख हेर्नै सक्दिनँ। यिनीहरू छटपटाएको देख्दा असाध्यै पीडा हुन्छ मलाई। धेरै समयसम्म दुःखी भइरहन्छु। एकातिर मान्छे मर्न लागेको छ र अर्कोतिर जनावर घाइते भएर छटपटाइरहेको छ भने म जनावरको पीडा देखेर कहालिन्छु। मान्छेको अवस्थाप्रति चासो हुँदैन। यी दुईमध्ये कसलाई केयर गर्ने भनियो भने म निसंकोच जनवारपट्टि लाग्छु। सुन्दा अनौठो लाग्ला। तर, मेरो स्वभाव यस्तै छ।
मान्छे चाहिँ केही होइनन् तपाईंका लागि?
म पनि मान्छे भएकाले मलाई पनि अरू मान्छे चाहिन्छ। समाज चाहिन्छ। मेरो व्यवसाय मान्छेहरूसँग घुलमिल हुनैपर्ने खालको भएकाले बाध्यतावश अरूसँग बोल्ने, फाट्टफुट्ट पार्टीतिर गइदिने, अन्तर्वार्ता दिने गर्छु। मेरो रुचि र स्वभावमा अन्तर नहुँदो हो त म यो सबै केही गर्दैन थिएँ। मान्छे भनेका रिप्लेसेबल चिज हुन् भन्ने लाग्छ मलाई। एउटा मान्छे गए अरू दशजना उसको ठाउँमा आइपुग्छन्। ‘यो मान्छे सबैभन्दा महत्त्वपूर्ण छ, योबिना जिन्दगी नै चल्दैन, योबिना कामै बन्दैन’ भन्नेमा विश्वास लाग्दैन। मान्छे भन्ने जातका कतिपय कुरा मलाई चित्त बुझ्दैनन् पनि। कहिलेकाहीँ त मान्छेहरू प्लास्टिकजस्ता देख्छु। उनीहरूको व्यवहार र आडम्बरले त्यस्तो छनक दिन्छ। त्यसकारण मान्छेप्रति श्रद्धा जाग्दैन। हामीमा इमानदारी र बफादारी भइदिएको भए हामी पनि चार हातखुट्टा टेकेर हिँड्ने थियौँ भन्ने लागिरहन्छ सधैँ।
मान्छेप्रति लगावै नभएर हो बिहेवारी नगर्नु भएको?
बिहे किन गर्ने? दुइटा उत्तर छन्। एक, वंश अगाडि बढाउन। दोस्रो, सहाराका लागि। यी दुवै कुरा तत्कालका लागि मलाई चाहिएका छैनन्। जतिबेला मलाई खाँचो पर्छ, त्यतिबेला गरौँला। अहिले म बिहेका लागि मानसिक रूपमा तयार छुइनँ। बिहे गरेपछि सामना गर्नुपर्ने प्रश्नका ओइरोदेखि तर्सिन्छु। ‘कहाँ गएर आएको? किन गएको?’ यस्ता प्रश्न मलाई मन पर्दैनन्। मलाई त मेरो आमु, दिदी–भिनाजुले समेत ‘तँ त बिहे नै नगर, आफ्नै तरिकाले बाँच्’ भन्नुहुन्छ।
किन?
भनेँ नि, म बिहेको लागि अहिले रेडी (तयार) छुइनँ। उहाँहरूले मलाई र मेरो स्वभावलाई बुझ्नुभएको छ। त्यसैले त्यस्तो प्रतिक्रिया दिनुहुन्छ। तर, एउटा रमाइलो कुरा के छ भने हाम्रो समाजमा बिहे नगरी बसेका महिला या पुरुष, दुवैप्रति अनेक आशंका गरिँदा रहेछन्। उनीहरूमाथि धेरै प्रश्न उठाइँदा रहेछन्। जस्तो, किन बिहे नगरेको? के भएर नगरेको? आदि। बिहे नै सबथोक हो भन्ने मान्यता छ यहाँ। संसारमा अरू कुरा पनि हुन्छन् भन्ने थाहै छैन। मान्छेको स्वभावको विविधताबारे आइडियै छैन। ममाथि चाहिँ यस्ता प्रश्न उठाउनुको तुक किन पनि छैन भने, मैले भन्दै आएको छु नि, मलाई समग्र मान्छेप्रति नै लगाव छैन। लगावै नभएपछि म कुनै मान्छेसँग नजिक हुने वा आत्मीय हुने त चान्स नै छैन।
आजका मितिसम्म मान्छे जातको कसैसँग पनि तपाईं आकर्षित हुनुभएन?
भएँ नि। मान्छेप्रति लगाव छैन, पर्सनल स्पेस बढी चाहन्छु भन्दैमा मभित्र मान्छेका गुणहरू नै छैनन् भन्ने होइन। जिन्दगीको एउटा एपिसोडमा मायाप्रेम पनि गरियो। अहिले जति पर्सनल स्पेस चाहिन्छ, मलाई त्यो बेला यतिविघ्न चाहिँदैन पनि थियो। अमेरिकामा छँदा मेरो ताल देखेर साथीहरू छक्क पर्थे। ‘ओ माई गड तँ त…’ भन्थे। तर, ती सबै क्षणिक थिए। अफेयर, रोमान्स, गर्लफ्रेन्ड सबै कुराका आ–आफ्ना समय हुँदा रहेछन्। मैले त्यो समय पार गरिसकेँ। तर, एउटा सत्य चाहिँ के भने मलाई त्यो बेला पनि बिहे गरौँ भन्ने रहर चाहिँ कहिल्यै जागेन।
सबैसँग टाइम–पासमात्रै गर्नुभयो…
केटा र केटी दुवैको समझदारीमा भएका चिजलाई टाइम पास भन्न मिल्दैन। एउटाले आफ्नो फाइदाको लागि मात्र प्रेमको नाटक गर्छ भने त्यसमा खोट हुन्छ। मैले त्यस्तो गरिनँ। कहिल्यै कसैको चित्त दुखाइनँ।
कामको चाप कत्तिको छ अहिले?
चाडपर्वले गर्दा धेरै काम अधुरा रहेका थिए। तिनलाई सल्टाउनु पर्नेछ। मेरो तेस्रो सिनेमा ‘अझै पनि’ को काम पनि धमाधम भइरहेको छ। सुटिङ सकिसक्यो। डबिङ हुँदै छ। दुईचारवटा म्युजिक भिडियो पनि खिच्नु पर्नेछ। चापै छ भन्नुपर्‍यो।
यसपालि पनि सुदर्शन थापासँगै काम गर्नु भएछ। फेरि पनि उही लभ–स्टोरी फिल्म बनाउने हो?
होइन। यसपालि हामीले पहिलेका जस्ता सिनेमा बनाएका छैनौँ। ‘अझै पनि’ सामाजिक प्रकारको फिल्म हो। यसमा काँठ क्षेत्रको कथा समेटिएको छ। यसमा ठेट नेपालीपनको सुगन्ध आउँछ भन्नेमा हामी विश्वस्त छौँ।
फिल्मको विधा किन फेर्नुभएको?
शहरिया वातावरणको, माया–प्रेममा आधारित फिल्म बनाइसकेँ। यसपालि अलि फरक गरौँ भनेर विशेषतः ग्रामीण समाजको विषयवस्तु रोजेको हुँ। फेरि, हामी जतिसुकै आधुनिक बन्न खोजे पनि आफ्नो मूल्य र मान्यतालाई बेवास्ता गर्न सक्दैनौँ। देश/विदेश जति चहारे पनि आखिर आफ्नै ठाउँ प्यारो लाग्छ, आफ्नै गाउँ प्यारो लाग्छ। त्यसकारण, शहरिया रिवाजको कथाभन्दा अलि पर गएर मैले हाम्रो असली संस्कृति, मूल्य र मान्यतामा आधारित फिल्म बनाएको छु यसपालि।
प्रायः एउटै टिमसँग काम गर्नुहुन्छ तपाईं। म्युजिक भिडियोमा झरना वज्राचार्य, नम्रता श्रेष्ठ आदिलाई लिनुहुन्छ। फिल्ममा पनि सुदर्शन थापा, आर्यन सिग्देलसँग काम गर्नुहुुन्छ। किन यस्तो?
यसको एउटै उत्तर छ– मसँग बिर्यानी खाने औकात छ भने म किन उसिनेको चामलको भात खान्छु? मैले झरना वज्राचार्य, नम्रताजस्ता सिपालु कलाकारसँग काम गर्न पाउँछु भने केही जान्दै नजानेका, मार्केट भ्यालू पनि कम भएकासँग किन काम गर्नु? नेपालमा झरनाबाहेक क्यामरामा त्यतिविघ्न फ्यानट्यास्टिक र त्यतिविघ्न सेक्सी देखिने अर्को मोडल भेटेको पनि छुइनँ मैले। यसो भनेर अरूलाई कम आँकेको होइन। प्रियंका कार्की, केकी अधिकारीहरूसँग पनि नियमित काम गरिरहेको छु। तर, झरनामा बेग्लै क्वालिटी छ।
तर, जतिसँग काम गर्नुहुन्छ, उनीहरूसँग सम्बन्ध टिकाइराख्न सक्नुहुन्न रे नि?
सम्बन्ध भन्ने चिज दिगो हुनै सक्दैन। आमा र छोराछोरीको सम्बन्ध त सधैँ उस्तै रहँदैन भने व्यावसायिक जीवनमा भेटिएका साथीभाइसँगको सम्बन्ध तलमाथि हुनु नौलो कुरै होइन। फेरि, सम्बन्ध नटिक्नुको अर्थ यो हुन जरुरी छैन कि एकआपसमा मनमुटावै भएको होस्। झरना, नम्रतालाई मैले त्यो बेलादेखि चिनेको हो जतिबेला उनीहरू करिअर सुरु गर्दै थिए। उनीहरूले मसँग धेरै काम गरे। बीचबीचमा के कसो गर्ने भनी मसँग सल्लाह पनि मागे। पछि, आफैँ निर्णय गर्न सक्ने भए। मेरो आवश्यकता परेन। आवश्यकता परेको भए केही गडबडी छ भनेर बुझ्नुपर्थ्यो। कि त उनीहरू परिपक्व हुन नसकेका भनेर बुझिन्थ्यो कि हामीहरूबीच केही खिचडी पाकेको छ भन्ने। त्यस्तो भएन। यसको अर्थ हामीहरूको सम्बन्ध सुमधुर र निर्मल छ।
म्युजिक भिडियोको कन्सेप्ट फुराउन कत्तिको समय लाग्छ?
हेरी, हेरी हुन्छ। कहिले छिनका छिन फुर्छ। कहिले हप्तौँ सोच्दा पनि क्लिक हुँदैन। तर, नेपालमा म्युजिक भिडियो बनाउन खासै गाह्रो छैन। यहाँ थरीथरीका गीतै बन्दैनन्। सबै गीत उही मिलन र बिछोडका बारेमा गाइन्छन्। एउटै भावलाई अनेक तरिकाले देखाइरहनुपर्दा आफैँलाई वाक्क लाग्छ कहिलेकाहीँ। उही कुरो कतिचोटि, कति प्रकारले देखाउनु जस्तो लाग्छ। कसैले त पातको, आकाशको बारेमा गीत गाइदिए पनि हुन्थ्यो झैँ पनि लाग्छ कहिले त। तर, नेपालीलाई पीडा नै सुन्न मनपर्दो रहेछ। पीडै बिक्छ यहाँ। अरू विषयका गीत गाएर के काम?
शुक्रवारबाट

 


  •  
  •  
  •  

Comments are closed.