काठमाडौँ, १४ फागुन : खराबाट उडेको १० मिनेटमा घोरेपानी, ६–७ मिनेट आकाशमै गायब रही टावरसँग सम्पर्कमै नआउनु अनि त्यसको ४–५ मिनेटमा मुस्ताङ अवतरण। पोखरा–जोमसोम हवाई उडान भर्ने प्रत्येक जहाजको नियमित स्वभाव हो यो ।
करिब २० मिनेटको यस रुटमा उड्ने जहाजलाई निगरानी गर्न पोखरा र जोमसोममा दुई टावर छन्। पोखराबाट घोरेपानीको आकाश छोएपछि जहाजमा के हुन्छ, जहाज र यात्रुको अवस्था के छ, न पोखराको टावरले थाहा पाउँछ न त जोमसोमले। त्यसयता गन्तव्यसम्मको यात्रा पूर्णतः चालककै तजबिजीमा निर्भर रहन्छ ।
उड्डयन क्षेत्रका विज्ञ उक्त रुटलाई ‘निकै डरलाग्दो’ मान्छन् । त्यसो त झन्डै चारवर्षे अवधिमा पोखरा–जोमसोम हवाई रुटमा तीन जहाज दुर्घटनामा परेका छन् ।
पोखरा विमानस्थलका प्रबन्धक योगेन्द्रनाथ कुँवरका अनुसार पोखरा–जोमसोम हवाई रुट निकै ‘क्रिटिकल’ छ । ‘नेपालका धेरै हवाई रुट डरलाग्दा छन्, त्यसमा पनि पोखरा–जोमसोम झनै क्रिटिकल,’ उनले भने, ‘चारैतिरबाट हावा चल्ने भएकाले जहाजलाई समस्या पार्छ, कुनै पनि बेला अप्ठेरोमा पर्न सक्छ । ‘
कुँवरका अनुसार जहाज घोरेपानीसम्म पोखरा टावरको सम्पर्कमा रहन्छ। त्यसपछि निगरानीको जिम्मा जोमसोम विमानस्थल टावरलाई हस्तान्तरण गरिन्छ । पोखराबाट जहाज १० मिनेटमा घोरेपानी पुगिसक्छ तर जोमसोम टावरको सम्पर्कमा भने अन्तिम ४–५ मिनेट मात्र रहन्छ। त्यसअघि ६–७ मिनेट कहाँ जान्छ, कतै सम्पर्क हुँदैन। प्राविधिक यस क्षेत्रलाई ‘बफर जोन’ पनि भन्छन् ।
‘बफर जोनमा जहाज दुर्घटनामा पर्न सक्छ,’ कुँवरले भने, ‘छोटो समयमै मौसममा बदली भइरहे झनै समस्या हुन सक्छ ।’ पोखरा–जोमसोम दुरी ५१ नटिकल माइल छ । पोखरादेखि घोरेपानीसम्म १६ नटिकल माइल मात्र हो । घोरेपानी कटेको जहाज तातोपानीमाथि पुगेपछि मात्र जोमसोम टावरको सम्पर्कमा पुग्छ ।
– नागरिक दैनिकबाट