इजिप्टद्धारा अलजजिराका पत्रकार ग्रेष्ट रिहा, अन्य दुईलाई पनि रिहा गर्न माग

197
  •  
  •  
  •  

peter_gresteकाठमाडौ, १९ माघ(एजेन्सी) : इजिप्टमा चार सय दिनसम्म बन्दी जीवन बिताएपछि अल जजिराका पत्रकार पिटर ग्रेस्ट रिहा भएका छन् । झुठा समाचारहरू फैलाएको र मुस्लिम ब्रदरहुडलाई सघाएको आरोप लगाएर ग्रेस्टलाई अन्य दुई पत्रकारसहित पक्राउ गरिएको थियो ।

सन् २०१३ मा सेनाले तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई सत्ताच्युत गरेपछि प्रतिबन्ध लगाईएको मुस्लिम ब्रदरहुडसंग मिलेर काम गरेको आरोप ती पत्रकारहरुमाथि लगाईएको थियो ।

आफ्नो बचाउ गर्दै तीनै जनाले आफूहरुले समाचार रिपोर्टिङ्ग मात्र गरेको बताउँदै आएका छन् ।

अल जजिराले ग्रेष्टलाई रिहा गर्ने निर्णयको स्वागत गर्दै उनका दुई सहकर्मी मोहम्मद फाह्मी र बाहेर मोहम्मदलाई रिहा गर्न माग गरेको छ । ग्रेष्टको रिहाई पछि उनको परिवारले ब्रिस्बेनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै रिहाईप्रति खुसी व्यक्त गरेका छन् भने उनीहरूले ग्रेस्टका अन्य साथीहरू रिहा नभएसम्म आराम नगर्ने बताएका छन् ।

ग्रेस्टको परिवारले उनी सुरक्षित, स्वस्थ र निकै खुसी भएको बताएका छन् । ग्रेस्टको रिहाईप्रति खुशी व्यक्त गर्दै उनलाई छुटाउन सहयोग गर्ने सबैलाई उनीहरुले धन्यवाद दिएका छन् । तर, उनीहरुले भने, “ग्रेस्टले आफ्ना अन्य दुई साथीहरु मुक्त नभएसम्म आराम गर्ने छैनन्।”

यसअघि इजिप्टले ग्रेस्टलाई रिहा गर्दै देश निकाला गरेको थियो। बीबीसीका पूर्वसंवाददाता समेत रहेका त्यहाँबाट ग्रेस्ट साइप्रस प्रस्थान गरेका थिए।

जिप्टको राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार, क्यानाडा र इजिप्टको नागरिकता भएका फाह्मीको इजिप्टको नागरिकता खारेज गरिएपछि उनलाई क्यानाडा पठाईनेछ।

निकै विवादित बनेको अदालती सुनुवाईपछि तीनै जना पत्रकारहरुलाई जेल सजाय सुनाईएको थियो।

गत महिना कायरोस्थित एउटा अदालतले उनीहरुविरुद्धका सबै आरोपहरु खारेज गर्दै पुनः सुनुवाई थाल्न आदेश दिएको थियो।

आफूहरुमाथि लगाईएका सबै आरोपहरुको उनीहरुले खण्डन गर्दै आएका छन् ।


  •  
  •  
  •