लोकमानकी छोरीको विहे सदाचारी, भोजन ‘कानुनपारी’

227
  •  
  •  
  •  

काठमाडौं १५ फागुन (ओएनएस) : बिहीबार सरकारले तोकेको ऐन कानुनको परिधिभित्रै रहेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले छोरीको विवाह गरिदिए । ५० जना जन्ती, विना उपहार निम्ता, थोरै खर्च शुक्रबारका सञ्चार माध्यममा कार्कीको सदाचार देखियो ।

सरकारी निवासमा विवाह गर्न मिल्छ कि मिल्दैन ? सरकारी भवनमा विवाह गरेका कारण बिहीबार सर्वसाधारण नागरिकले अख्तियारभित्र प्रवेश गर्न पाएनन् ।

राज्यले अख्तियार प्रमुखका लागि उपलव्ध गराएको सरकारी आवासमात्र होइन, अख्तियारकै प्राङगण समेत लोकमानकी छोरीको बिहेका लागि प्रयोग गरिएकाले काम अवरुद्ध भएको अख्तियार कर्मचारीले बताएका छन् ।

निजी बिहेका लागि अख्तियार प्रमुखले अख्तियारको सरकारी भवन दुरुपयोग गरेको भन्दै कर्मचारीहरुले टिप्पणी गरेका छन्
लोकमानले गरेको सादाचारी विहे र उनकै छोरीको विवाह उत्सवमा आज शुक्रबार राखिएको भोज विवादास्पद देखिएको छ । उनका सम्धी रोहीनी थपलियाले आज  लाजिम्पाटस्थित् पाँच तारे होटल साँग्रिलामा भव्य रात्रि भोज आयोजना गरेका छन् ।

बिवाह भोजमा  राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु, शीर्ष नेताहरुलाई समेत निम्ता पठाइएको छ ।  होटेल स्रोतका अनुसार विवाहभोजमा सबै ब्राण्डको रक्सीको पनि व्यवस्था मिलाइएको छ ।

बिहीबार छोरीको सदाचारी विहे र शुक्रबार लाखौ खर्चको भोज अख्तयार प्रमुखका लागि चुनौती बनेको छ ।  अख्तियार प्रमुख कार्कीले सामाजिक व्यवहार सुधार ऐन २०३३ भित्रै रहेर विवाह गरेपछि उनका सम्धी थपियाले त्यसविपरित भोज दिएका छन् । कार्कीका लागि यो चुनौती भएको अख्तियारका एक अधिकारीले बताए ।

सामाजिक व्यवहार सुधार ऐन २०३३ मा १ सय ५० जनाभन्दा बढिलाई भोज दिन नमिल्ने र बढिमा ५१ जना मात्रै जन्ती जाने व्यवस्था गरिएको छ ।  कार्कीले यसकै आधारमा ५१ जना जन्तीसहित छोरीको विवाह गरेका हुन् । ‘तर, प्रमुख आयुक्त कार्कीले सम्धीले आयोजना गर्ने भोज रोक्न सक्ने की नसक्ने ? अख्तियारका एक अधिकारीले प्रश्न गरे । ’

लोकमानले सरकारी कार्यालयबाटै अन्माए छोरी…(फोटोफिचर)


  •  
  •  
  •