प्रजिअ रिजाललाई निलम्बन गर्न गृह मन्त्रालयलाई पत्राचार(विज्ञप्तिसहित)

123
  •  
  •  
  •  

काठमाडौं । घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रिजाललाई निलम्बन गर्न गृहमा पत्र लेखि पठाइएको जानकारी गराएका हुन् ।

रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकाले पदमा बहाल रहँदा आफूविरूद्धको प्रमाण लोप गर्नसक्ने भएकाले निलम्बन गर्न पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा आफूविरूद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान र्पुयाउन सक्ने भएको हुँदा निजलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालय सिंहदरबारमा लेखी पठाइएको छ ।’

दोलखामा तत्कालीन प्रमुख जिल्ला अधिकारी हुँदा रिजालले मुद्दाका अभियुक्तसँग घुस लिएको आरोप लागेको थियो । घुस लिएको आरोप लागेपछि मन्त्रालयले केही दिनअघि उनलाई कारबाहीस्वरूप जिम्मेवारीबाट हटाएको थियो । रिजाललाई गृहले अतिरिक्त कोटामा सामान्य प्रशासन मन्त्रालय सरूवा गरिसकेको छ ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •