क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीको आक्रमणबाट ४९ जनाको मृत्यु(अपडेट)

27
  •  
  •  
  •  

एजेन्सी : न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीको आक्रमणबाट ४९ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा धेरै गम्भीर रूपमा घाइते भएको गार्जिएन अनलाईनले जनाएको छ ।

केही समय अगाडि बीबीसीले प्रधानमन्त्री जेसिन्डा आर्डर्नको भनाइ भन्दै ४० को मृत्युु भएको बताएको समाचार दिएको थियो ।

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको र २० जनाभन्दा धेरै गम्भीर रूपमा घाइते भएको प्रधानमन्त्री जेसिन्डा आर्डर्नले बताएकी छन् ।

आर्डर्नले आजको शुक्रबारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ’आतंककारी हमला’ मात्रै भन्न सकिने बताइन् ।
बीबीसीका अनुसार प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन् ।

सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ ।  प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र ऊ ‘अतिवादी दक्षिणपन्थी घातक आतकंकारी’ भएको बताएका छन् ।

तर प्रहरीले आफूले रोकेका केही गाडीहरूमा विस्फोटक पदार्थ भेटिएको बताएको छ । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी छन् । उनले भनिन् , ‘अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको लागि कालो दिनमध्ये एक हुनेछ ।’

बीबीसीका अनुसार अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीय समाचारपत्रलाई भने,‘पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ । तर त्यसपछि सबै मानिसहरू भाग्न थाले । ‘मेरा केही साथीहरू अझै भित्रै छन् । मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ।, तर धेरैसँग सम्पर्क भएको छैन । मलाई साथीहरूको पीर लागेको छ ।’

घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् । जसले आप्रवासीहरूविरुद्ध लेखेका छन् ।
आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ ।

बांगलादेशी क्रिकेट जोगियो
केही समय अगाडि त्यो मस्जिदमा रहेको बांलादेशी टेस्ट क्रिकेट टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको बताएका छन् ।

केही समय अगाडि मात्र बांलादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए । बांलादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ । उनीहरुले आफनो देश र न्युजिल्याण्डको सरकारसंग सम्पर्कमा रहेको बताएका छन् ।


  •  
  •  
  •