कोइरालाले फोनबाटै वैद्यलाई बोलाए

56
  •  
  •  
  •  

काठमाडौैं ९ भदौ ।
– प्रधानमन्त्री सुशील कोइरालाले राजधानीबाहिर रहेका नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यलाई राजनीतिक संवादका लागि सरकार र दलहरुसँग बस्नका लागि चाँडै र्फकन आइतवार आग्रह गरेका छन् । वैद्यले भने आफूहरुले यसअघि राखेको ८ बुँदे राजनीतिक प्रस्तावको प्रगति विवरणबारे जिज्ञासा राखेका थिए ।

‘वृहद राष्ट्रिय राजनीतिक सभामार्फत संविधानका अन्तर्वस्तुमा छलफल हुनुपर्ने हाम्रा मागमा सरकार र दलहरुको धारणा के छ भनेर मैले प्रधानमन्त्रीलाई सोधे’, पार्टी कार्यक्रममा तानसेन रहेका वैद्यले कान्तिपुरसँग भने- ‘वार्ताका लागि वार्ता मात्रै नगरौं । तपाईंहरुको कुरा के हो भनेपछि उहाँले काठमाडौमै आउनुस् । छलफल गरौं भन्नुभएको छ ।’

स्रोतका अनुसार सरकारले वैद्यसहितका राजनीतिक मोर्चासँग आइतवार नै वार्ता गर्न खोजेको थियो । सरकार र ठूला दलले राजनीतिक सभाबारे गृहकार्य नगरेको बुझेपछि माओवादीले आलटाल गरेको हो । आफू सोमबार राजधानी र्फकने तर वार्ता कहिले हुने भने टुंगो नभएको वैद्यले जानकारी दिए ।

कोइराला प्रधानमन्त्री भएपछि सरकारले दलहरुसहित माओवादीसहितको मोर्चासँग यसअघि वार्ता गरिसकेको छ । प्रधानमन्त्री कोइराला अमेरिकाबाट स्वास्थ्योपचारबाट फर्केपछि पुनः बस्ने सहमति भए पनि अहिलेसम्म हुन सकेको छैन । कान्तिपुरबाट


  •  
  •  
  •