काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी । बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी एवं हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने विश्वास सहित विशेष पूजा गरिन्छ ।
हरिशयनी एकादशीका दिन घरको मठमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीका दिन भगवान् विष्णुसँग विवाह गरिदिने प्रचलन रहेको छ । यसैले यो दिनलाई तुलसी विवाह पनि भन्ने गरिन्छ ।
असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास भनिन्छ । हरिबोधनी एकादशीका दिन मुलकभरका विष्णु मन्दिर तथा त्रिवेणीमा विशेष मेला लाग्दछ ।
हरिबोधनी एकादशीको अवसरमा भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौँको शेषनारायण र इचंगुु नारायणको पूजा गरी एकादशीव्रत बसेमा पुण्य प्राप्त हुने जनविश्वासले यी विभिन्न धाममा श्रद्धालुको घुँइचो लागेको छ ।
बूढानीलकण्ठमा पनि यो एकादशीदेखी शुरु भएर कात्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्दछ । यस्तै,इलामको माईपोखरीमा पनि ठुलो मेला लाग्दछ ।
एकादशीको अवसरमा केहि गाउँपालिकाले आज सार्वजनिक विदा समेत दिएका छन् ।