विमानस्थलका पसल तेब्बर महँगो

429
  •  
  •  
  •  

काठमाडौं, २९ साउन : मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल सरकारी कर्मचारीहरूको मात्र नभई निजी क्षेत्रका व्यवसायीको समेत कमाउने माध्यम बनेको तथ्य खुलेको छ ।
सरकारी अनुगमनका क्रममा विमानस्थल परिसरभित्रका अधिकांश पसलहरूले उपभोक्तासँग चर्को मूल्य असुल्दै आएको तथ्य पत्ता लागेको हो । व्यापारीहरूले कुनै पनि सामानमा तीन गुणाभन्दा बढी मूल्य लिने गरेको अनुगमनका क्रममा पाइएको छ ।

५ सय एमएलको स्प्राइट १ सय ५० मा, २० रुपैयाँको मिनरल वाटर ४० मा र स्निकर चकलेट २ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । अधिकांश सामानको बिक्री मूल्य अनुपात पनि सोहीअनुसार रहेको छ । बुधबार विमानस्थल क्षेत्रका पसलको अनुगमनमा पुगेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको अनुगमन टोलीले खाद्य, किराना र क्याफेहरूमा अनुगमन गरेको थियो । त्यहाँस्थित कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स, क्लासिक मार्टस, न्यु कन्फेक्सनरी स्टोर, होटल सोनिङ प्रालिलगायतमा गरिएको अनुगमनमा अधिकांशले बढी मूल्यमा सामान बिक्री गरेको पाइएको हो । त्यति मात्र नभई फर्मकै नामको साइनबोर्ड नभएको, मूल्यसूची नराखेको, व्यवसाय दर्ता नभएको लगायतको कैफियत भेटिएको समाचार हिमालय टाइम्समा छापिएको छ ।

कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्सलाई मूल्यसूची टाँस गर्न, पसलको नाम टि एन्ड कफी सप लेखिएकाले स्वीकृत फर्मको नाम राख्न, स्वीकृत वस्तुमात्र बिक्री गर्न, व्यवसाय दर्ताको सक्कल प्रमाणपत्र र २०७१ साउनको खरिद बिल र बिक्री बिल एक साताभित्र पेश गर्न निर्देशन दिइएको अनुगमन टोली प्रमुख पुरुषोत्तम सुवेदीले जानकारी दिए । साथै म्याद नाघेका लेज स्पेनिस टोमेटो ट्यांगो ५० ग्रामको ३ प्याकेट, स्प्राइट ५ सय एमएलको ४ थान र कुकिज २ प्याकेट नष्ट गरिएको पनि उनले बताए ।

अनुगमन टोलीले कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्सलाई मूल्यसूची टाँस गर्न, फर्मको ठाउँ सारी र शाखा थप गर्न निर्देशन दिएको छ भने शिखर चुरोट सरकारले तोकेको मापदण्डअनुसार प्रिन्ट नभएको पाइएकाले ७ प्याकेट जफत गरिएको छ ।

न्यु कन्फेक्सनरी स्टोरले ५ सय एमएलको स्प्राइट १ स ५० रुपैयाँमा बिक्री गरेकाले कारणसहित एक हप्ताभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ । व्यापारीहरूले भने भाडा महँगो भएकाले बढी मूल्यमा सामान बिक्री गर्नुपरेको दाबी गरेका छन् । आन्तरिक उडान परिसरमा रहेको टि एन्ड कफी सपका ज्ञानेन्द्र बम्जनले भने, ‘यहाँको भाडा महँगो भएका कारण बढी मूल्यमा सामान बिक्री गर्नु हाम्रो बाध्यता हो तर ग्राहकलाई हामी बाध्य पार्दैनौँ ।’

उनले त्यसो भने पनि विमानस्थल परिसरभित्र प्रायः एउटै व्यक्ति तथा समूहले विभिन्न प्रकृतिका पसल सञ्चालन गर्ने गरेको पाइएको छ । पसलहरू सीमित संख्यामा रहेका कारण ग्राहकले विकल्प खोज्न सक्ने अवस्था पनि देखिँदैन । ग्राहकले विकल्प खोज्न सक्ने अवस्था नभएकाले पसल सञ्चालकहरूले जथाभावी मूल्य लिँदै आएको पाइएको हो ।


  •  
  •  
  •