एयरपोर्ट बन्दको दर्दः बिहेको दिन बेहुला कतारमै

148
  •  
  •  
  •  

tribhuvan airport turkish plane crash6दोहा (कतार), २३ फागुन : ‘बाबा तपाई किन नआउनुभएको ?’, ७ बर्षे छोरीले फोनमा सोधिराख्दा काभ्रेका बिष्णु उप्रेती भक्कादिदै थिए । कतारको हमाद अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षा कक्षमा तीन दिनदेखि बसिरहेका उप्रेतीले छोरीलाई सम्झाउँदै थिए, ‘नेपालमा प्लेन चलेको छैन् । चल्ने बित्तिकै आइहाल्छु ।’

उप्रेतीले छोरीलाई बुधबार बेलुका काठमाडौंमा भेट्ने बाचा गरेका रहेछन् । बुधबार १२:४५ को कतार एयरवेजबाट नेपाल जाने उनको टिकट थियो । ‘विमानस्थल आएपछि मात्रै थाहा भयो, टर्किस विमान दुर्घटनामा परेको,’ उनी भन्दै थिए, ‘त्यसपछि छिट्टै खुल्छ होला भनेर बसेको त आज तीन दिन भइसक्यो ।’

उनी अल्माज कम्पनीको क्याटरिङमा काम गर्छन् । उनको समुहमा १० जना नेपाली छन् । ‘कम्पनी फिर्ता गएमा फर्केने ढिला भइन्छ’, उनले भने, ‘अहिले झन बेहाल पो हुन पुग्यो ।’

हमाद विमानस्थलका प्रशासनले सबै बिमानका यात्रुलाई बस्न दिइएको छैन् । ठाँउ ठाँउमा यात्रु बस्ने कुर्सी छन् । ती सबै कर्सी अलपत्र यात्रुले भरिएका छन् । ‘हामीलाई (कतार एयरवेजका यात्रु) मात्रै बस्न दिएको छ । अरु बिमानका यात्रुलाई फर्काइ हालेको छ’, स्याङ्जाका हिम गुरुङले भने,’सबैलाई बस्न दिने हो भने भीड थेगिनसक्नु हुने थियो ।’

गुल्मीका राधेस पन्तको विवाहको लागि बिदामा घर जाँदै थिए । उनको शुक्रबार बिहे गर्ने तिथि तोकिएको थियो । ‘बास एयरपोर्टकै भइहाल्यो’, तनावमा देखिएका पन्तले भने, ‘बिहे कसरी गर्नु ?’

३ बर्षअघि कतार आइपुगेका पन्तले घर जान बल्ल बल्ल समय मिलाएको थिए । ‘सबै पक्का भएर कम्पनी छोडेर हिडेको । यता फसादमा परियो,’ उनीले भन्दै थिए ।

६ जनाको समुहमा सुतिरहेका बाग्लुङका गगन थापा फेरि कतार नफर्कने गरी कम्पनीले भिसा रद्द गरिसकेको छ । ‘कम्पनीले एयरपोर्टसम्म ल्याएर छोडिदियो । हाम्रो जिम्मेवारी यति हो भनेर फर्कियो भन्दै गयो,’ थापाले भने, ‘फेरि क्याम्पभित्रै फर्कन पासको व्यवस्था छैन् ।’

४५ वर्षीय थापा २२ महिना अघि कतार आइएका थिए । ‘कम्पनी नै कचेरा (खराब) खालेको छ । पठाउने मान्छेलाई झन के हेथ्र्यो र ?’, उनले भने,’हिड्ने बेला साइत बिग्रिएछ ।’

लामो लामो दुरीबाट आएकाहरु पुन कम्पनी फर्केका छैनन् । ‘हिजो (बिहीबार) पनि शुक्रबार बिहान १० बजे एयरपोर्ट खुल्छ भनेर बसियो । शनिबार १० बजेमात्रै खुल्छ भनेर समाचार आयो’, म्याग्दी तातेपानीका कपिलाल बिश्वकर्माले भने, ‘कम्पनीलाई सम्र्पक गर्दा बाहिर निस्किए हामीलाई समस्यामा पर्छ । जहिले खुल्छ त्यहिले जा भनिरहेको छ ।’

पाँच बर्षपछि बल्ल घर जान पाएका सुन्दीप बिसी विमानस्थलमै बस्नु ठीक भएको बताए । ‘बल्ल बल्ल उँट कुदाउने कामबाट मुक्त भइएको छ । कपिलले त बोलाइरहेको छ । उता गएपछि फेरि फर्कने टुंगो छैन’, उनले भने,’बरु जतिदिन भएपनि यतै बसिन्छ ।’ निकै आपतबिपतमा पर्नेहरु भने भारतीय बाटो हुँदै नेपाल जान थालेको बताए । ‘मेरो साथी लखनउ हुँदै गयो’, मोती गुरुङले भने,’उसलाई आपत परेको रहेछ ।’

धेरै जसो आर्थिक समस्यामा समेत देखिएका छन् । ‘पाँच घण्टामा नेपाल पुगिएला भनेर भएको पैसा नेपाल पठाइयो’, मोती गुरुङले भने,’धन्न बिहान र बेलुका कतार एयरवेजले नै खाजा खुवाइरहेको छ ।’

जहाजको पखाईमा बसेकाहरु पनि अब टिकट नपाउनेले चिन्तित छन् । ‘बिमानस्थल खुलिहाले पनि हामीले सिट पाइहालिन्छ भन्ने ग्यारेन्टी छैन’, झापाका डम्बर गिरीले भने,’कहिले पो पालो आँउछ ?’

साभारः कान्तिपुर


  •  
  •  
  •