विमानस्थलमा यात्रुहरूको सुविधाका लागि १२ बुँदे प्रतिवद्धता

180
  •  
  •  
  •  

काठमाडौं, २५ पुस (ओएनएस) : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आगमन गर्ने यात्रुहरूले छिटो छरितो एवं सुव्यवस्थित गर्न सम्बन्धित निकायहरुले १२ वटा प्रतिबद्धता गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सेवा सुविधा प्राप्त गर्न नसकेको भन्ने लगायतका उजुरीपछि आयोगका सचिवको नेतृत्वमा स्थलगत अनुगमन एवं सरोकारवाला निकायहरूका पदाधिकारीहरू संग स्थलगत रुपमै छलफल गरिएको थियो । छलफलपछि सरोकारवाल निकायहरुले सुधारको लागि १२ वटा प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

छलफलमा अर्थ सचिव, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका निमित्त सचिव, महानगरिय प्रहरी आयुक्त, नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक, भन्सार विभागका महानिर्देशक, त्रिभुवन विमानस्थलका महाप्रवन्धक, विमानस्थल स्थित सुरक्षा निकाय, अध्यागमन, भन्सार, नेपाल वायुसेवा निगमका प्रमुखहरू उपस्थित थिए ।

उपस्थित पदाधिकारीहरूले त्रिभुवन विमानस्थलको सुधार तथा यात्रुहरूलाई छिटो छरितो सेवा सुविधा उपलव्ध गराउने विषयमा प्रतिबद्धता ब्यक्त गरिएको हो ।

प्रतिवद्धताहरू
१. भन्सार कार्यालयबाट राखिएको एक्सरे मेशिनहरूबाट सामान स्क्यान गर्ने ढिलो हुने गरेको कारण यात्रुका सामानहरू अलपत्र पर्ने, यात्रुहरूलाइ हैरानी हुने गरेकोले हाललाई जोखिम मुल्याङ्कन गरी x-ray गर्ने र वाकी सामानहरू पूर्ववत रुपमा कन्भेयर बेल्टबाट सामान पठाउने ।

२. नं.३ कन्भेयर बेल्ट हाललाई Manually Handle गरी छिटो भन्दा छिटो बेल्ट परिवर्तन गर्ने ।

३. नागरिक उड्यन कार्यालयबाट २४ घण्टा भित्रै यात्रुहरूलाई पिउने पानीको उचित बन्दोवस्त गर्ने ।

४. नागरिक उड्डयन कार्यालय र Ground Handling को जिम्मेवारी लिएको नेपाल वायुसेवा निगमले आवश्यक संख्यामा लोडरहरूको व्यवस्था गरी २४ घण्टा भित्र सबै कन्भेयर बेल्टहरू सुचारू गर्ने ।

५. हाल बन्द अवस्थामा रहेको नं.४ बेल्ट २४ घण्टा भित्र सञ्चालनमा ल्याउने ।

६. भन्सार कार्यालयले छिटो भन्दा छिटो भन्सार प्रकृया पुरा गरी यात्रुहरुले सामान प्राप्त गर्ने व्यवस्था मिलाउने ।

७. २४ घण्टा भित्र त्रिभुवन विमानस्थल स्थित सुरक्षा निकायको नेतृत्वमा यात्रुहरुको गुनासो सुन्ने संयन्त्र तयार गरी लागू गर्ने ।

८. यात्रुहरूको सामानहरूको अवस्था र प्राप्त गर्ने सम्बन्धमा सूचना प्रवाहको व्यस्था यथाशिघ्र गर्ने ।

९. ट्याक्सी तथा अन्य सवारी साधनहरूको पार्किङको समुचित व्यवस्थापन आजैका मिति देखि विमानस्थल स्थित नेपाल प्रहरीले गर्ने ।

१०. बिमानस्थलमा तत्काल देखिएका समस्याहरू समाधानार्थ नागरिक उड्डययन कार्यालय, नेपालप्रहरी, भन्सार कार्यालय, नेपाल वायुसेवा निगमका पदाधिकारीहरू रहने Action Committee गठन गर्ने ।

११. श्रम डेस्क हाल रहेको स्थानबाट ७ दिनभित्र नागरिक उड्डययन कार्यालयले उचित व्यवस्थापन गरि तय गरेको स्थानमा सार्ने ।

१२. बिमानस्थलको पूर्वाधार विकासका लागि दिर्घकालिन रणनिती तयार गर्ने ।

सम्बन्धित पदाधिकारीहरूले गरेको प्रतिवद्धता अनुरूप कार्य भए नभएको सम्बन्धमा आयोगबाट अनुगमन र निगरानी हुनेछ, प्रतिबद्धता अनुरूप कार्य भएको नपाईएमा सम्बन्धित पदाधिकारीहरू उपर कानून बमोजिम कारवाही गरिने अख्तियारले जनाएको छ ।


  •  
  •  
  •