राजदूतको गुनासोले कर्मचारी सरुवा

75
  •  
  •  
  •  

काठमाडौं २२ पुस ।
नेपालस्थित अमेरिका र विभिन्न युरोपेली मुलुकका राजदूतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीको आचरणमा प्रश्न उठाएपछि गृह मन्त्रालयले त्यहाँ कार्यरत नौजना कर्मचारीलाई सरुवा गरेको छ। गैरकानुनी आर्थिक लाभ लिएको उजुरीका आधारमा गृहले उनीहरूलाई सरुवा गरेको हो।

गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालले ‘ती कर्मचारीलाई सरुवा गर्न आवश्यक देखेर मन्त्रालयले अन्यत्र खटाएको’ बताए। सेटिङमा यात्रुहरूबाट अतिरिक्त रकम असुलेको, यात्रुहरूलाई आर्थिक लाभ लिने उद्देश्यले अनावश्यक केरकार गरेको, विभिन्न मुलुकका नक्कली राहदानीमा छानबिन नगरी भिसा दिएको आरोपमा उनीहरूलाई गृहले काजसरुवा गरेको हो।

अध्यागमन अधिकृतहरू तोयानारायण अर्याल र लालबहादुर बुढाथोकी सर्लाही, कपिलप्रसाद रेग्मी डोटी, हीराकाजी श्रेष्ठ सिरहा, जगदीश अर्याल र महेन्द्रसिंह खड्का कैलाली, प्रेमकुमार उपाध्याय सप्तरी जिल्ला प्रशासन कार्यालयमा र शिवचन्द्र धिताल रौतहट कारागारमा तथा रामचन्द्र काफ्ले क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा काजसरुवा भएका छन्।

यो सरुवासँगै विमानस्थलमा खटिएका नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी कर्मचारीको आचरणबारे अनुगमन हुनुपर्ने आवाज अध्यागमन विभागका कर्मचारीले उठाएका छन्।

अमेरिका र युरोपेली मुलुकका राजदूतले विमानस्थलका कर्मचारीको व्यवहारबारे गुनासो गरेपछि परराष्ट्रको युरोप-अमेरिका महाशाखाले मंसिर अन्तिम साता पत्र लेखी विमानस्थलमा कार्यरत कर्मचारीले युरोप र अमेरिका जाने विशेष गरी महिला यात्रुबाट अवाञ्छित लाभ लिने र यात्रुलाई दु:ख दिने गरेको भन्दै अध्यागमन विभागलाई सजग गराएको थियो।

विभागका निर्देशक बाबुराम खतिवडाले परराष्ट्रको पत्रबारे तत्कालै विमानस्थल अध्यागमनलाई जानकारी गराएका थिए। विमानस्थल अध्यागमनका प्रमुख गोविन्द कार्कीले अध्यागमनका सबै कर्मचारीलाई सचेत गराउँदै तत्काल हस्ताक्षरसमेत गराएका थिए।

स्रोतका अनुसार परराष्ट्रको पत्रपछि पनि कतिपय कर्मचारीको आचरणमा सुधार नआएको भन्दै अध्यागमन विभागको सिफारिसमा गृहले पुस १४ गतेको निर्णयअनुसार उनीहरूलाई सरुवा गरेको हो।

गृहले उनीहरूलाई थमाएको सरुवापत्रमा भने कुनै आरोप लगाइएको छैन। ‘२४ घ अन्तर्गत बढुवा भएका अधिृकतबाट अपेक्षित काम नभएपछि उनीहरूलाई सरुवा गरिएको हो’, गृहका एक सहसचिवले भने, ‘अब अध्यागमनमा अंग्रेजी भाषामा दक्ष फ्रेस कर्मचारी पठाउँछौं।’

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोविन्द कार्कीले अध्यागमन सुधारका लागि कुनै कसर बाँकी नराखेको बताए। उनले भने, ‘अध्यागमन सुधारका लागि कर्मचारीलगायत केही अध्यागमन डेस्कसमेत हेरफेर गरिरहेका छौं।’

केही कर्मचारीले आर्थिक लाभ लिने गरेको पाइएपछि अध्यागमन कार्यालयले सुधारको प्रयासमा आइतबारदेखि लागू हुने गरी गोला प्रथाद्वारा ड्युटी छुट्ट्याउन थालेको छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •