काठमाडौँ, ८ चैत(ओएनएस) : इराकको मोसुल शहरमा शनिबार भएको अमेरिकी हवाई आक्रमणमा आईएसआईएसका १ सय आतंकी मारिएका छन् ।
रिपोर्टका अनुसार मोसुल विश्वविद्यालयबाहेक फरक-फरक ठाऊँमा निशाना बनाइएको थियो । केही आतंकी विश्वविद्यालयको क्याम्पसमा पनि लुकेका थिए । आक्रमणको समयमा विश्वविद्यालयमा विद्यार्थी थिएनन् ।
निनेवेह राज्यका पूर्व गवर्नर अथिल अल नुजायफीले आक्रमणको पुष्टी गरेका छन् । उनका अनुसार आक्रमणमा आईएसआईएसका १७ जना सिनियर आतंकी र केही मानिस मारिएका छन् । इस्लामिक स्टेटको मिडिया विंग ‘अमाक’ले आक्रमणको केही तस्विर र भिडियो पनि पोष्ट गरेको छ । भिडियोमा आक्रमणपछि धुलो उडेको देखाईएको छ ।
एक इराकी न्युज एजेन्सीको रिपोर्ट अनुसार आक्रमणमा २५ नागरिक पनि मारिएका थिए । युकेस्थित इन्टरनेशनल एयरस्ट्राइक मनिटरिङ्ग ग्रुप ‘एयरवेज’ले पनि यो दावी गरेका थिए । मोसुलको एक क्याफे, कार बम वर्कसप, विश्वविद्यालय र आइएसको इन्टेलिजेन्स र सुरक्षा कार्यालयलाई निशाना बनाइएको थियो ।