इन्धनको मूल्यबृद्धिले हवाई भाडा बढ्यो

239
  •  
  •  
  •  

काठमाडौं २४ कात्तिक ।
आयल निगमले एयर लिफ्ट गरी कोलकत्ताबाट आयत गरिरहेको हवाई इन्धन (एटीएफ) को मूल्य सोमबारदेखि प्रति लिटरमा १ सय १५ रुपैयाँ बढाई २ सय ३३ रूपैया पुर्‍याइएपछि निजी विमानहरुले हवाई भाडा वृद्धि गरेका छन् ।

प्रति लिटर १ सय १८ रुपैयाँमा खरिद गर्दै आएका आन्तरिक विमानहरुको छाता संगठन वायुसेवा संचालक संघले सोमबार साँझ ६ बजेपछि देशभरका सबै आन्तरिक हवाई रुटको भाडा बढाएको जनाएको छ ।

इन्धनको मूल्य दोब्बरभन्दा बढी नै पुर्‍याइएपछि संघले काठमाडौंबाट धनगढीको नर्मल भाडा १० हजार ८ सय २५ बाट १५ हजार ५ सय ९५ रुपैयाँ कायम गरेको छ । त्यसैगरी नेपालगन्जको ८१ सय बाट ११ हजार ६ सय ९०, भैरहवाको ५ हजार ६ सय ९० बाट ७ हजार ८ सय ६०, पोखराको ४ हजार ३ सय ९० बाट ६ हजार २ सय ९०, भरतपुरको ३ हजार ३ सय ७० बाट ४ हजार ६ सय ५०, सिमराको २६ सय ६५ बाट ३९ सय ४५ पुर्‍याइएको छ ।

नयाँ भाडा दर अनुसार, जनकपुरको ३८ सय ७५ बाट ५४ सय ५, बिराटनगरको ६४ सय ९५ बाट ८ हजार ९ सय ५५, भद्रपुरको ७४ सय ८० बाट १० हजार ८ सय ७० रुपैया एकतर्फी भाडा कायम गरिएको छ । उता, काठमाडौंबाट तुम्लिङ्गटारको ५१ सय ७५ भाडालाई ७५ सय ५० र लुक्लाको १६ हजार १ सयबाट बृद्धि गरी १७ हजार ८ सय रूपैया पुर्‍याइएको छ ।

बढाइएको यो भाडा दर नेपाल वायु सेवा निगम(नेवानी) को सन्दर्भमा भने लागू हुने छैन । नेवानीको करपारेट विभागका अनुसार, भाडा सम्वन्धि मंगलबार नेवानीले बैठक आयोजना गर्दैछ ।

हवाई भाडा दर बढाउन गठन गरिएको प्राविधिक कमिटिका संयोजक तथा बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार, सबै रुटका सबै फेयरमा फ्युल सरचार्ज मात्र बढाइएको छ । यो भाडादार हवाई इन्धन आपूर्ति सहज नभएसम्मकालागी मात्रै कायम गरिएको छ ।

भारतले गरेको अघोषित आर्थिक नाकावन्दीपछि हवाई इन्धन सडकमार्गबाट ल्याउन नसकेपछि निगमले नेपाल वायुसेवा निगम (नेवानी)को जहाजबाट एयरलिफ्ट गरी आपुर्ती गर्दै आएको छ ।
निगमको एयरपोर्ट डिपो प्रमुख प्रदीप यादवका अनुसार, जहाजबाट इन्धन आयत गर्दा परल मूल्य नै प्रति लिटर २ सय रुपैया भन्दा बढी छ ।

सोमबारसम्म निगमले जहाजबाट ल्याएको इन्धन पूरानै दरमा अर्थात प्रति लिटर १ सय १८ रुपैयामा बिक्री गर्दै आएको थियो । तर, आर्थिक व्ययभार थेग्न नसकिने भएपछी हाल केही समयका लागि काठमाडौंबाट मात्रै बिक्री हुने हवाई इन्धनको मूल्य मात्र बढाइएको हो ।

यादवका अनुसार, धनगढी, सुर्खेत, नेपालगन्ज, भैरहवा, पोखरा र बिराटनगर विमानस्थलमा रहेका निगमको डिपोबाट बिक्रि हुने हवाई इन्धनको मूल्य भने बढाइएको छैन । तर संघले धनगढीबाहेक अन्य क्षेत्रका विमानस्थलमा हवाई इन्धन नपाइने गरेकाले काठमाडौंबाटै हाल्नु पर्ने बाध्यता रहेको जनाएको छ ।

इन्धन आपूर्ति सरल भएपछि हवाई भाडा पुरानै दरमा फर्काइने संघले जनाएको छ । यसैबिच सोमबार निगमको जहाजले कोलकताबाट तीनवटा उडान गरी ६० हजार भन्दा बढी हवाई इन्धन आयत गरेकाले मंगलबार आन्तरिक उडान कटौती नहुने डिपोले जनायो ।

निगमका जहाजले दैनिक तीन उडान गरे आन्तरिक उडान कटौती गर्नु पर्दैन् ।
कान्तिपुरबाट


  •  
  •  
  •