एआइजी बढुवा रोकियो

285
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (ओएनएस) : नेपाल प्रहरीमा रिक्त एआईजीको बढुवा तत्काललाई रोकिएको छ । रिक्त दरवन्दीका लागि ७ जना डिआइजीको बढुवा सिफारिस भए पनि सो सिफारिस तत्काल कार्यान्वयन नगर्न पुनरावेदन अदालत पाटनले सोमबार अन्तरिम आदेश दिएको छ ।

प्रहरी नायव महानिरीक्षक (डीआइजी) पर्शुराम खत्रीले आइतबार दायर गरेको रिटमा प्रारम्भीक सुनुवाइ गर्दै न्यायाधीश रामेश्वरनाथ अमात्यको इजलासले यस्तो आदेश दिएको हो । आफूमाथि पूर्वाग्रह राखेर बढुवाबाट बन्चित गरेको भन्दै उनले पुनारावेदनमा रिट दायर गरेका थिए ।

उनले प्रहरी नियमावली २०४९ अनुसार आफूले प्राप्त अंकसमेत नयाँ नियामवली बनाएर घटाइएको उनको दाबी छ । उनले मन्त्रिपरिषद्, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयलाई विपक्षी रिट दायर गरेका थिए ।

बढुवा सिफारिस समितिले सात जनाको नाम सिफारिस गरेपछि ६ प्रतिस्पर्धीले बढुवा सिफारिस पुनरावलोकन समितिमा उजुरी दिएका छन् । गृहसचिव सूर्य सिलवाल संयोजक, मन्त्रिपरिषद् कार्यालयका सचिब र आइजीपी सदस्य रहेको समितिले डिआइजीहरु राजेन्द्रसिंह भण्डरी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउदको नाम सिफारिस गरेको छ ।


  •  
  •  
  •