एआइजी बढुवाविरुद्ध थप तीन डीआइजी सर्वोच्चमा

74
  •  
  •  
  •  

काठमाडौं, ३ भदौं (ओएनएस)  : एआइजी बढुवाविरुद्ध थप तीन डीआइजी सर्वोच्च अदालत गएका छन् । बढुवा नियम संगत नभएको दावी गर्दै डीआइजी पशुर्राम खत्री, सुशीलवरसिंह थापा र विश्वराज सिंह शाहीले सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि डीआइजी यादव अधिकारीले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुन सकेन ।

रिटमा पुनरावलोकन सिफारिस समितिको सिफारिस विपरित १० र १३ नम्बरमा परेकाहरुलाई बढुवा गरिएको भन्दै खारेजको माग गरेका छन् । सरकारले बढुवा गरेका ९ डीआइजीमध्ये रमेशशेखर बज्राचार्य १० औं र केदार साउद १३ औं नम्बरमा थिए ।
सर्वोच्चमा गएका यादव अधिकारीको नाम आठौं नम्बरमा थियो । यस्तै सुशीलवरसिंह थापा नवौं, पशुर्राम खत्री ११ औं र विश्वराज सिंह शाहीको नाम १२ औं नम्बरमा थियो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, बढुवा सिफारिस समिति लगायतलाई विपक्षी बनाइएको छ ।

सरकारले गत बिहीबार नौं डीआइजीलाई एआइजीमा बढुवा गरेको थियो ।


  •  
  •  
  •