नेपाल नआएरै सकियो ४६ करोडको बेलायती सहयोग

232
  •  
  •  
  •  

chinook helicopterकाठमाडौँ, ८ माघ(एजेन्सी) : बेलायतले भूकम्पपछि नेपाललाई दिने भनिएको करिब ३ मिलियन पाउण्ड(करिब ४६ करोड ४० लाख नेपाली रूपैयाँ) बराबरको सहयोग रकम नेपालमा नआई सकिएको छ । भुकम्पग्रस्त नेपालको उद्दार र राहतका लागि बेलायतले तीन वटा चिनुक हेलिकोप्टर पठाएको थियो । तर, ती हेलिकोप्टर नेपाल प्रवेश नगरीकनै फर्किएका थिए ।

नेपाल सरकारले नपठाउन आग्रह गर्दा गर्दै बेलायतले पठाएका ती हेलिकोप्टर करिब १ महिना भारतमा बसेर फर्किएका थिए । बिहीबार जारी प्रतिवेदन अनुसार बेलायतले नेपाल सरकारको आग्रह बिना नै भूकम्पपीडितको उद्धारका लागि तीन वटा हेलिकोप्टर पठाएकोले नेपाल सरकारलाई घोषणा गरेको सहयोग रकम खेर गएको छ । नेपाल सरकारले बेलायतले पठाउन लागेका ती ठूला हेलिकोप्टर आफूलाई आवश्यक नपर्ने बरू यसले उल्टै भूकम्पबाट कमजोर भएका भवनहरू भत्किन सक्ने भन्दै उक्त हेलिकोप्टर सहयोगका लागि अस्विकार गरेको थियो ।

बेलायतले पठाएको तीन वटा ठूला हेलिकोप्टर करिव एक महिना भारतमा रहेर कुनै पनि उद्धार कार्यमा नखटिइ बेलायत फर्किएका थिए । बेलायतको राष्ट्रिय लेखा कार्यालयले दिएको जानकारी अनुसार उक्त हेलिकोप्टरहरू नेपाल पठाउँदा खर्च भएको करिब ३ मिलियन पाउन्ड पहिले बेलायतको रक्षा मन्त्रालयले बेहोरेको थियो । तर, पछि रक्षा मन्त्रालयले यसको बिल अन्तराष्ट्रिय विकास नियोग(डिएफआईडी)लाई बुझाएको थियो ।

मन्त्रालयले हेलिकोप्टरको बिल डिएफआईडीलाई पठाएपछि नेपालले पाउने सहयोग रकमबाट नै उक्त बिल भुक्तानी गरिने बताइएको छ ।

यस्तै, डेली मेलमा प्रकाशित समाचार अनुसार बेलायतले सीरियाका लागि पठाएको सहयोग रकम समेत सशस्त्र समूहले चोरी गरेको बताइएको छ । चोरी गरिएका रकमसहित अन्य सामग्री समेत चोरी भएको र त्यसमा पनि विशेष गरी खानेकुरा बढी चोरी भएको बताइएको छ ।


  •  
  •  
  •