इँटा उद्योगको धुवाँले सकस, किसानले सडकमा फाले काउली

116
  •  
  •  
  •  

बनेपा, ८ माघ (ओएनएस) : इँटा उद्योगबाट निस्केको धुवाँ र धुलाेको कारण तरकारीमा क्षति पुगेको भन्दै काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसान आन्दोलित बनेका छन्। उनीहरुले धुलिखेलस्थित अरनिको र बिपी राजगर्माको दोबाटोमा काउली फालेर विरोध गरेका छन् ।

किसानले स्थानीय सरकार र प्रशासनले आफूहरुले इँटाभट्टाको विषयमा पहिलादेखि नै उठाउँदै आएको मागको सुनुवाइ नगरेको भन्दै काउली सडकमा फालेर विरोध गरेका हुन्।

किसान केशवप्रसाद ढकालले उत्पादित तरकारी बजारमा बिक्री गर्न नपाएको बताए। ‘बिक्री गर्न बजार पठाएको उत्पादित तरकारी बजारबाट फिर्ता आइरहेको छ,’ उनले भने।

उत्पादित काउली काठमाडौँस्थित कालिमाटी तरकारी बजारमा बिक्रीका लागि लगेकामा कालो भएको भन्दै फिर्ता आएपछि आन्दोलित हुनुपरेको किसानको भनाइ छ।

वातावरण प्रदूषण गरेका भट्टाको विरोध गर्दै माटो र कोइला बोकेका गाडीलाई रोक लगाएको भन्दै आफूमाथि कुटपिट गरेको स्थानीयवासी ढकनारायण पराजुलीले बताए। घरबाहिर निस्कने बेलामा समेत धुवाँ धुलोका कारण माक्स लगाएर निस्कनुपर्ने र श्वास फेर्नसमेत मुस्किल हुने गरेको उनले जानकारी दिए।


  •  
  •  
  •