काठमाडौं, २० भदौ(ओएनएस) : राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीलगायतका विषयमा सहमति जुटाउन दलहरुले छलफललाई तीव्रता दिएका छन् । केही दिनदेखि राजनीतिक संवादलाई निरन्तरता दिएका दलहरुले शुक्रवार पनि सहमतिको प्रयासलाई जारी राखेका छन् । शुक्रवार सिंहदरवारमा बसेको प्रमुख चार दल कांग्रेस, एमाले, एमाओवादी र नेकपा–माओवादीका शीर्ष नेताहरु सहभागी बैठकमा संविधानका विवादित विषयमा गंभिर छलफल गर्दै सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।
एमाले उपाध्यक्ष विद्या भण्डारीले संविधानका विवादित चार मुख्य विषयमा दलहरुबीच गम्भीर छलफल भएको र सहमति नजिक पुगेको बताइन् । दलहरुबीच राज्यको पुर्नसंरचना, शासकीय स्वरुप, न्यायप्रणालीलगायतका विषमया विवाद छ । नयाँ संविधानमा रहने सबै अन्तरवस्तुमा सहमतिमा पुग्नुपर्ने अन्तिम समयमा आएर दलहरु सहमतिका लागि जुटेका हुन् ।
‘संविधानका मुख्य अन्तरवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीबारे मुख्य तीन दलका शीर्ष नेताबीचमा छलफल भयो, एमाले उपाध्यक्ष वामदेव गौतमले भने,’ ‘हामी सहमतिको नजिक नजिक पुगेका छौँ, अरु दलसित बसेर ती विषयमा कुराकानी भएपछि सहमति हुन्छ जस्तो छ ।’ नेताहरुले भोलीसम्म सबै विवादित विषयमा सहमतिमा पुग्ने विश्वास व्यक्त गरे । अहिले संविधानसभाभित्र रहेका साना दलहरुसँग छलफल भइरहेको छ ।