संविधानका असहमतिका बुँदाप्रति काँग्रेस र एमाले सहमति नजिक

88
  •  
  •  
  •  

काठमाडौं, १८ भदौ (ओएनएस) : संविधानका विवादित विषयमा सत्तारुढ कांग्रेस–एमाले सहमति नजिक पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको दुई दलका शीर्ष नेताहरूको बैठकमा नयाँ संविधानका असहमतिका अन्तरवस्तुमा दुई दल सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् ।

बैठकमा दुई प्रमुख दल संविधान निर्माणमा देखिएका असहमतिका प्रमुख विषयहरू राज्यको पुनःसरचना र सङ्घीयताको स्वरुप, निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्याय प्रणालीलगायतका विषयमा नजिक पुगेको काँग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले बताए ।
साझा निष्कर्षमाथि अन्य दलका पनि जुटाई संविधान निर्माणको निर्धारित कार्यतालिकाअनुसार नै संविधान निर्माणको कार्य अघि बढाउने सहमति भएको प्रवक्त बडूले जानकारी दिए ।

संविधान निर्माणको निर्धारित तालिका अनुसार भदौ २१ भित्र सहमति खोज्न काँग्रेस र एमाले सहमति नजिक पुगेको र त्यसपछि अन्य दलसँग पनि त्यसैगरी सहमति गरेर माघ ८ गतेभित्र नयाँ संविधान निर्माण जारी गरिने एमाले नेता अमृतकुमार बोहराले सञ्चारकर्मीलाई जानकारी दिए ।
सहमतिका लागि काँग्रेस र एमाले अधिकतम लचिलो भएर प्रस्तुत हुने र अन्य दललाई पनि लचिलो भएर प्रस्तुत हुन आग्रह गर्ने सहमति भएको बोहोराले जानकारी दिए ।

नेता बोहराले संविधान निर्माण गर्ने आधिकारिक निकाय संविधानसभा भएकाले यसको वैधता र भूमिकाबाहेक माओवादीले राखेका सकारात्मक र रचनात्मक कुरा सुन्न र मान्न प्रमुख सत्तारुढ दलहरु तयार भएको बताए ।


  •  
  •  
  •