सभामुख मर्यादा र जिम्मेवारीप्रति सचेत हुनुहुन्छः सचिवालय

381
  •  
  •  
  •  

काठमाडौं । संवैधानिक परिषद्‍को बैठकमा अनुपस्थित भएकोबारे सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रष्टीकरण दिएको छ। मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाको सचिवालयले प्रष्टीकरण दिएको हो ।

राज्य सञ्चालनमा दीर्घकालीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने आफ्नो स्पष्ट मान्यता रहेको बताउँदै उनको सचिवालयले तयारी र गृहकार्य नपुगेका कारण सभामुख बैठकमा अनुपस्थित भएको उल्लेख गरिएको छ।

‘नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई यहाँ नेर स्मरण गर्नु उपयुक्त हुन्छ,’ सभामुख सापकोटाको सचिवालयले लेखेको प्रेस नोटमा भनिएको छ, ‘राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधिसभाका विपक्षी दलको नेतासमेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको छ।’

जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि नै सभामुख सापकोटाले निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्‍ बैठकमा उपस्थित नभएपछि सभामुख सापकोटाका विषयमा विभिन्न टीकाटिप्पणी भएपछि सभामुखको सचिवालयले प्रष्टीकरण दिएको हो।

हेर्नुहोस्

सम्माननीय सभामुखको सचिवालय
प्रतिनिधिसभा, संघीय संसद
प्रेस नोट

संवैधानिक परिषद्को मिति २०७७ साल मंसिर २८ र ३० गतेको बैठकमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिलाई लिएर उठेका प्रश्न स्पष्ट पार्न यो प्रेस नोट जारी गरिएको छ।

मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८ ः ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नु भएको यस अघि नै जानकारी गराइसकिएको छ। स्मरण रहोस्, त्यस दिन विहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो।
जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो। राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ।

नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकिकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ। राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको छ।

उहाँले संसदलाई जीवन्त र जनमुखी बनाउने सूत्र वाक्यलाई हृदयङ्गम गरि जननिर्वाचित सर्बोच्च निकाय संघीय संसदको गरिमालाई माथि उठाउने विषयलाई सदैब जोड दिँदै आउनु भएको छ। जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको अवगत नै छ।

उहाँ संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैब सचेत हुनुहुन्छ।


  •  
  •  
  •