पर्यटन प्रर्वद्धनमा गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघबीच सम्झौता

471
  •  
  •  
  •  

NMAकाठमाडौ, १८ भदौ(ओएनएस) : विनाशकारी महाभूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा पुर्‍याएको असरलाई मध्यनजर गर्दै यसको प्रवर्धन गर्न गैरआवासीय नेपाली संघ र नेपाल पर्वतारोहण संघबीच एक सम्झौता भएको छ ।

बिहीबार काठमाडौमा आयोजित एक विशेष समारोहमा एनआरएनए अध्यक्ष शेष घले र नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतापत्रमा उल्लेख भए अनुसार गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरु मार्फत पर्वतीय पर्यटनको प्रवर्धन गर्ने, परिषद्हरुमध्ये हरेक वर्ष सबैभन्दा धेरै पर्यटक भित्राउन सहयोग गर्नेलाई पर्वतारोहण संघको तर्फबाट पुरष्कृत गर्ने, एनआरएनएको वेवसाईट तथा प्रकाशनहरुमा पर्वतारोहण संघको प्रवर्धन गर्ने छ । यसैगरी दुवै संस्थाले संयुक्त आरोहणको व्यवस्था गर्ने, विदेशमा पर्वतारोहणको फोटो प्रर्दशन गर्न एनआरएनएले सहयोग गर्ने, एनआरएन दिवसको अवसरमा पर्यटन विकास सम्बन्धी गोष्ठी संचालन गर्ने, पोखरामा अवस्थित अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयको पवर्धन गर्ने तथा नेपाल पर्वतारोहण संघले निर्माण गर्न लगेको अस्पताललाई एनआरएनएले सहयोग गर्ने विषयहरू समावेश छन् ।

सम्झौतापत्र हस्ताक्षर समारोहलाई सम्वोधन गर्दै अध्यक्ष घलेले एनएमए जस्तो नेपालको गरिमा बोकेको संघसँग सहकार्य गर्न पाउनु एक अवसर भएको र यसले एकैसाथ धेरै सम्भावनाहरुको ढोका खोलेको बताए । अध्यक्ष घलेले गैरआवासीय नेपाली संघको स्थापनाका उदेश्यहरु मध्ये नेपालको पर्यटन विकासमा सहयोग गर्ने पनि रहेको र नाफा नोक्सानको हिसाव भन्दा माथि उठेर गैरआवासीय नेपालीहरुले मातृभूमिको बिकास गर्ने पवित्र भावनाका साथ यस क्षेत्रको विकासमा लागि परेको बताए ।

NMA1उनले गैरआवासीय नेपालीहरूले नेपालको पर्यटनमा एक पर्यटकको हैसियतले, पर्यटन व्यवसायमा लगानी गरेर, पर्यटनलाई विदेशमा प्रर्वद्धन गर्दै र पर्यटन क्षेत्रमा विदेशी लागानी भित्राउन सहयोग गरिरहेको बताए ।

पर्यटन व्यवसाय बहुआयामिक व्यवसाय भएको र यसले देशमा थूप्रै रोजगारीका अवसरहरुका सिर्जना गरेको वताउँदै भूकम्प पछिको निर्माण गर्दा पर्यटन क्षेत्रको प्रचुर सम्भावनाको ख्याल गर्दै स्वरोजगारी तथा आयआर्जनमा मद्दत पुराउने सक्ने परियोजनाहरुको बिकास गर्नु पर्ने सुझाव दिए ।

सो अवसरमा बोल्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले विश्वभर फैलिएको गैरआवसीय नेपाली संघले नेपालको पर्यटन विकास र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको र महाभूकम्प पछि खस्कदै गएको यस क्षेत्रलाई उकास्न दुवै संघ मिलेर अघि बढ्नु पर्ने बताए ।

उनले नेपाल पर्वतारोहण संघको जिम्मामा रहेका ३३ वटा पर्वतहरुको पर्वद्धन गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै समुद्री सतहवाट ६७ मिटरदेखि ८८४८ मिटर सम्म फैलिएको जैविक विविधता, बिभिन्न भेषभूषा, संस्कृति तथा सम्पदाका धनी नेपाल पर्यटकहरुकै लागि विश्वको उत्कृष्ट गन्तव्य भएता पनि यसको प्रचूर संभावनाको पूर्णरुपमा सदुपयोग गर्न पछि परेको बताएका छन् ।

शेर्पाले महाभूकम्पको समयमा गैरआवासीय नेपाली संघले देखाएको अग्रसरता तथा पूराएको सहयोगको लागि हृदय देखि नै धन्यवाद दिन चाहन्छु भन्दै यस कार्यपछि गैरआवासीय नेपाली संघको छवि थप चम्किलो भएको र नेपाली जनसमुदाय माझ एनआरएन प्रतिको आशा र भरोसा जागेको बताए ।

सम्झौतापत्र हस्ताक्षर समारोहमा नेपाल पर्वतारावण संघका पदाधिकारीहरु, पर्यटनसँग आवद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नेपाल पयर्टन प्रवर्धन समितिका सदस्य शिशिर भट्ट, खुला विश्वविद्यालय कार्यदलका सभापति डा. प्रमोद ढकाल तथा गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।


  •  
  •  
  •