लाजिम्पाटमा आगलागी हुँदा एक जनाको मृत्य, ४ जना घाइते

283
  •  
  •  
  •  

काठमाडौं, २२ चैत(ओएनएस) : काठमाडौंको लाजिम्पाटमा आगलागी हुँदा एक जनाको मृत्य भएको छ भने ४ जना घाइते भएका छन् ।

फाइल तस्बिर

बिहीबार राति आगलागीमा परी ओखलढुंगाको पोखरी गाउँपालिका–२ का भेषबहादुर थापाको मृत्यु भएको हो । उनी ग्रुप फोर सेक्यूरिटी कम्पनी अन्तरगत होटल शंकरमा सुरक्षागार्ड थिए ।

नील सरस्वती मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा आगलागी हुँदा भाडामा बसेका उनको मृत्यु भएको हो ।
उनलाई उपचारका लागि अस्पताल लगिए पनि बाटैमा मृत्यु भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी नायव उपरीक्षक (डीएसपी) होविन्द्र बागेटीले जानकारी दिए ।

घाइते हुने अन्यमा बर्दियाका विबेक शाही, उनकी श्रीमती गंगामाया शाहीसँगै चन्द्रमाया राई र बिना बस्नेत छन् । राई र बस्नेत उपचारपछि घर फर्किएका छन् भने शाही दम्पत्तिको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

हाल उनीहरुको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । मध्यराति १२ बजे विद्युत् सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आगो नेपाल प्रहरी र काठमाडौं महानगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।


  •  
  •  
  •