आगलागीमा सात लाख रुपैयाँभन्दा बढीको क्षति

255
  •  
  •  
  •  

बर्दिवास, २९ फागुन(ओएनएस) : महोत्तरीको भंगाहा नगरपालिका–४ रामनगरमा आगलागीबाट सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

फाइल तस्बिर

बस्तीका ठाकुर बडहीको घरमा बुधबार विद्युत् सट भई आगलागी हुँदा लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहना जलेर नष्ट हुँदा सात लाख रुपैयाँ बढीको नोक्सान भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

ठाकुरको पक्की घरको मुख्य राखनधरन गरिने कोठामा बिजुली पङ्खाबाट विद्युत् सर्ट भई आगो लागेको प्रत्यक्षदर्शी रामईश्वर ठाकुरले जानकारी दिए ।

आगलागी हुनासाथ सीतापुर प्रहरी चौकीबाट पुगेको प्रहरी र त्यहाँका स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गरिएको छ ।

विद्युत् सर्ट भएर कोठामा आगो दन्किएपछि घरका मानिस सबै बाहिर भागेका थिए । विद्युत् मिटरको तार चुँडाएपछि कोठामा लागेको आगो पम्पसेट (इनारबाट पानी तान्ने मेशिन) चलाएर नियन्त्रण भएको थियो ।


  •  
  •  
  •