काठमाडौं, जेठ २५ (एजेन्सी) : अफगानिस्तानको उत्तरी भागमा आएको बाढीका कारण ७३ जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीका कारण सयौं घर बगाएको तथा हजारौं व्यक्ति आफ्नो घर परित्याग गर्न बाध्य भएको जानकारी प्रान्तीय अधिकारीले जानकारी दिएका छन् । प्रान्तीय प्रशासनका प्रवक्ता मोहमुद हकमलले घना वर्षापछि आएको बाढीले बाग्लान प्रान्तको गुजारगाह–ए–नुर जिल्लामा ७३ भन्दा बढी व्यक्तिको मृत्यु भएको बताए ।
प्रवक्ता हकमलले आफूहरूले ५० जनाको शव फेला पारेको र त्यसमा महिला तथा बालबालिकाको शव पनि रहेको जानकारी दिए । उनले अन्य धेरै व्यक्ति अझै हराइरहेको उल्लेख गरे । उनले यो संख्या मृतकको प्रारम्भिक संख्या भएको र यो बढ्नसक्ने उल्लेख गरे । गुजारगाह–ए–नुर जिल्लाका प्रशासक नुर मोहमद गुजारले ६६ जनाको मृत्यु भएको छ ।
उनले शुक्रबार आएको बाढीले चार गाउँलाई नष्ट बनाएको, करिब दुई हजार घर बगाएको, कृषि भूमिलाई प्रभावित बनाएको तथा हजारौं गाईवस्तुको मृत्यु भएको उल्लेख गरे । अफगानिस्तानको उत्तरपूर्वी बदख्सान प्रान्तमा गत महिना घना वर्षापछि गएको पहिरोले कम्तीमा तीन सयजनाको मृत्यु भएको थियो ।
मे २ मा ताजिकिस्तान, चीन तथा पाकिस्तानको सीमामा पर्ने यस प्रान्तको आर्गु जिल्लामा भएको उक्त दुर्घटनाका कारण सयौं परिवार घरवारविहीन भएको बताइएको छ ।