सेनाको कारबाहीमा ८२ को मृत्यु

261
  •  
  •  
  •  

काठमाडौं, २८ जेठ (एजेन्सी) । अफगानिस्तानको दक्षिणी प्रान्त उरुजगानमा जारी सैनिक कारबाहीको क्रममा पाँच अफगान सैनिकसहित ८२ जनाको ज्यान गएको छ । बुधबार प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा ७७ जना सशस्त्र हतियारधारी आतङ्ककारीको मृत्यु भएको जनाइएको छ ।

उरुजगानमा जारी कारबाहीको क्रममा पाँच अफगान राष्ट्रिय सैनिक र ७७ आतङ्ककारीको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ । सो मन्त्रालयका प्रवक्ता मेजर जर्नेल जाहिर आजिमीले आफ्नो ट्वीटर एकाउन्टमार्फत उक्त जानकारी दिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलदेखि ३७० किलोमिटर दक्षिणमा पर्ने उरुजगान प्रान्तको प्रान्तीय राजधानी टिरिन कोटमा गत सोमबार बिहानदेखि नै सो कारबाही सुरु भएको जनाइएको छ । अफगानिस्तानमा एक दशक भन्दा बढी देखि अफगान सरकार र नेटोसँग आबद्ध सैनिकसँग युद्धरत तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी भने गरेका छैनन् ।
यस वर्षको अन्त्यसम्ममा नेटोसँगआवद्ध सबै सैनिकले अफगानिस्तान छोड्ने नेटोसँग आवद्ध सबै देशहरुले निर्णय गरिसकेका छन् । सोही कारण पनि देशमा सुरक्षाको जिम्मेवारी अफगान सुरक्षाबललाई नै दिइएको सरकारले जनाएको छ । सरकारी सुरक्षाकर्मीले त्यहाँ तालिवान विरुद्धमा कारबाही जारी राखेका छन् । तर पछिल्लो समयमा भने तालिवानहरुले सुरक्षाकर्मीमाथि जाइलाग्न थालेका छन् । उनीहरुले सर्वसाधारणको पनि हत्या गर्ने गरेका छन् ।
अफगानिस्तानमा केही समयपछि नै दोस्रो चरणको राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । तर पछिल्लो समयमा सुरक्षा चुनौती पनि थपिएको पाइएको छ ।


  •  
  •  
  •