सीमा क्षेत्रमा समस्या पर्‍यो ? सशस्त्र प्रहरीलाई सम्पर्क गर्नुहोस्

350
  •  
  •  
  •  

काठमाडौं, पुस ५ (ओएनएस) :  नेपालको दक्षिणी सीमावर्ती इलाकामा ओहोर दोहोर गर्दा दुव्र्यवहार लगाएतको अन्य समस्या भएमा सशस्त्र प्रहरी बलले समाधानको पहल गर्न हटलाइन सेवा संचालनमा ल्याएको छ ।

समस्या आएमा जानकारी पाउन आग्रह गर्दै सशस्त्र प्रहरी बलले देशको पाँचै क्षेत्रस्थित बलको मुख्यालय बाहिनीहरुमा चौविसै घण्टा ड्युटी रहने गरी फोन नम्बर १११४ संचालनमा ल्याएको हो ।
यो नम्बरमा टेलीफोन गर्दा कुनै खर्च लाग्दैन जुनसुकै सीमा नाकाबाट यो नम्बरमा फोन गर्दा उक्त ठाउँ जुन क्षेत्रमा पर्छ, सोही क्षेत्रस्थित सशस्त्र प्रहरी बलको मुख्यालय बाहिनीमा टेलीफोन जाने व्यवस्था गरिएको छ ।

सीमावर्ती विभिन्न नाकाहरुमा यात्रा गर्नेहरुलाई समस्या भएएपछि सशस्त्र प्रहरीले सीमा नाकामा मानिसको बढि आवतजावत हुने ठाउँमा सजिलै देखिने गरी हटलाइन फोन नम्बरसहितको साइनबोर्ड राखिसकिएको छ ।

हाल देशका विभिन्न ६६ स्थानमा यस्तो साइनबोर्ड राखि सकिएको छ । जसमध्ये पूर्व क्षेत्रका विभिन्न नाकामा ३० वटा तथा मध्य क्षेत्रमा ११, पश्चिम क्षेत्रमा ५, मध्य पश्चिम क्षेत्रमा ११ र सुदुर पश्चिम क्षेत्रमा विभिन्न नाकामा ९ वटा यस्ता साइनबोर्ड राखिएको छ ।

सीमा क्षेत्रमा कुनै स्वदेशी तथा विदेशी नागरिकलाई यात्रा गर्ने क्रममा कुनै निकाय वा अरु कसैले अनावश्यक झण्झट वा दुःख दिन खोजेमा पीडित पक्षले उल्लेखित फोन नम्बरमा जानकारी गराउन सक्नेछ । उक्त समस्या सीमावारी भएमा एपीएफले तथा सीमा पारीको समस्या भएमा एसएसवीले तत्काल समस्या समाधानमा पहल गर्न दुई देशवीच सहमति भएपछि फोन नम्बर उल्लेख गर्दै साइनबोर्ड राखिएको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा हालै सम्पन्न ‘नेपाल–भारत समन्वय बैठक’ मा रोजगारको सीलसीलामा, ब्यापारको सीलसीलामा वा काम विशेषले सीमा वारिपारी गर्दा नेपाली नागरिक सीमाक्षेत्रमा सुरक्षाकर्मी तथा अरुबाट दुब्र्यवहारमा परेको तथा पीडित भएको भन्ने विषयमा छलफल भएपछि समाधानमा नेपाल भारत दुवै देशले पहल गर्ने सहमति भएको थियोे । यसैक्रममा दुवै देशको सुरक्षा निकायको फोन नम्बर उल्लेख गरिएको साइनबोर्ड सीमावर्ती इलाकामा राखिएको हो ।

APF 2

यस्ता कुनै समस्या आएमा दुवै देशले ‘फिल्ड लेबल’ मै तत्काल समाधानको पहल गर्ने तथा ‘फिल्ड लेबल’ को कमाण्डरले उदासिनता देखाएमा दुवै देशको क्षेत्रीयस्तरको कार्यालयले तत्काल समस्या समाधान गर्नुको साथै उदासिन कमाण्डर माथि ‘एक्सन’ लिने नीति समेत दुई देशविच बनेको छ ।

हाल पूर्व क्षेत्रमा काँकडभिट्टा झापा, जोगवनी मोरङ लगाएतका नाकाहरुमा उक्त साइनबोर्ड राखिएको छ भने मध्य क्षेत्रमा वीरगंज पर्सा, गौर रौतहट, मलंगवा सर्लाही, भिट्टामोड महोत्तरी लगाएतका नाकाहरुमा साइनबोर्ड राखिएको छ ।

यसैगरी पश्चिम क्षेत्रमा सुनौली रुपन्देही, कृष्णनगर कपिलवस्तु लगाएतका नाकाहरु तथा मध्यपश्चिम क्षेत्रमा जमुनाह बाँके, कोइलाबास दाङ लगाएतका नाकाहरुमा तथा सुदुर पश्चिम क्षेत्रमा गड्डाचौकी कंचनपुर, त्रिनगर कैलाली लगाएतका नाकाहरुमा दुवै देशको हटलाइन फोन नम्बर सहितको साइनबोर्ड राखिएको छ ।


  •  
  •  
  •