अत्यन्त रोमाञ्चक खेलमा स्टकल्याण्डमाथी अफगानिस्तानको रोमाञ्चक जीत

185
  •  
  •  
  •  

?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????काठमाडौ, १४ फागुन(ओएनएस) : विश्वकप क्रिकेट अन्तर्गतको स्कटल्याण्ड र अफगानिस्तानविरूद्धको रोमाञ्चक खेलमा अफगानिस्तानले विजय हासिल गरेको छ । अफगानिस्तानका दशौ र एघारौ नम्बरका ब्याटस्म्यानले राम्रो प्रदर्शन गर्दै अफगानिस्तानको टोलीलाई निकै रोमाञ्चक जीत दिलाएका छन् ।

एसोसियट्स राष्ट्रहरुबीच भएका खेलहरू निकै रोमाञ्चक भइरहेको अवस्थामा पुनः आजको खेल पनि निकै रोमाञ्चक भएको थियो ।
अफगानिस्तानका समिउल्लाह शेनवरीले एकै ओभरमा ३ छक्का प्रहार गर्दै अफगानिस्तानलाइ जीतको नजिक पुर्याएपनि उनले खेलको अन्तिम समयसम्म क्रिजमा भने रहन सकेनन् तर, उनको ती तीन वटा छक्का नै अफगानिस्तानलाई जीत दिलाउने बलियो आधार बन्न सफल भयो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले दशौ नम्बरमा आएका हमिदसँग ६० रनको उत्कृष्ट साझेदारी गरेपछि अफगानिस्तानको जीत सम्भव भएको थियो ।

टोलीलाई २० बलमा १९ रन जोड्नु पर्ने अवस्थामा शेनवरीले साथ छाडेपछि हमिद र जार्डनको जोडीले अन्तिम विकेटका लागि १९ रनको साझेदारी गर्दै ३ बल बाँकी रहँदै खेल जिताउन सफल भएका थिए । शेनवरीले २८ बलमा ३८ रन आवश्यक रहेको अवस्थालाई ४७ औ ओभरमा ३ छक्का प्रहार गरेपछि खेलको समिकरण नै परिवर्तन गरिदिएका थिए । तर उनी तेस्रो छक्का प्रहार गरेपछि ९६ रनको व्यक्तिगत स्कोरमा आउट भए । उनी आउट भएपछि स्कटल्याण्डलाई जित हासिल गर्न मात्र एक विकेट लिनु थियो भने अफगानिस्तानलाई १८ बलमा १९ रन लिनु थियो ।

अफगानिस्तानलाई जीत दिलाउनका लागि जावेदले ५१ रनको पारी खेलेका थिए भने हमिद हसनले अविजित १५ रन र शापुर जार्डनले १२ रनको योगफल तयार गरे भने अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् । यता स्कटल्याण्डका लागि रिची बेरिङ्गटनले सर्वाधिक ४ विकेट लिएका थिए भने जोश डाभी र अलास्देर इभान्सले २-२ विकेट, मजिद हकले १ विकेट लिएका थिए ।

टस हारेर ब्याटिङ थालेको स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा आफ्ना सबै विकेट गुमाएर २ सय १० रनको योगफल तयार पारेको थियो । स्कटल्याण्डलाई उक्त स्कोरमा पुर्याउने क्रममा म्याट मचान र मजिद हकले समान ३१-३१ रन जोडेका थिए भने अलास्देर इभान्सले २८ रन, रिची बेरिङ्गटन र कायल कोयट्जरले समान २५-२५ रन र कप्तान प्रेस्टोन मोम्सेनले २३ रन जोडेका थिए । स्कटल्याण्डलाई उक्त स्कोरमा समेट्नका लागि अफगानिस्तानका सापू जार्डनले ४ विकेट तथा दलवत जार्डनले ३ विकेट लिएका थिए भने हमिद हसन, गुल्बादिन नैब र मोहम्मद नाबीले समान १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ दी म्याच समिउल्लाह शेनवरी घोषित भएका छन् ।


  •  
  •  
  •