काठमाडौं, २४ वैशाख (ओएनएस) : मलेसियामा जारी एसीसी प्रिमियर लिग क्रिकेट अन्र्तगत बुधबार भइरहेको खेलमा अफगानिस्तानले नेपालसामू २ सय ६३ रनको विजय लक्ष्य पेश गरेको छ ।
क्वालालम्पुरको किन्नारा एकेडेमीमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि सुरुमा व्याटिङ गरेको अफगानिस्तानले ४९ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय ६२ रन बनायो ।
नेपालका लागि शक्ति गौचन र बसन्त रेग्मीले तीन–तीन विकेट लिए ।
१६ वर्षका खेलाडी अरिफ सेखले २ विकेट लिए । नुर अली र उसमान उनका शिकार भए । यस्तै राजकुमार प्रधान र सोमपाल कामीको पक्षमा एक–एक विकेट रह्यो ।
गौचनले कप्तान नाबीसहित नसिद, र हस्मातुल्हा साइदीलाई शिकार बनाए ।
अफगानिस्तानका लागि उसमान घानीले ६१ ब्लमा तथा हासमातुल्लाले ७७ बलमा अर्धसतक प्रहार गरे । उनीहरुले समान ५१ रन बनाए । यस्तै नुर अलि जाद्रानले ४३, नासिद अमदाजारी २० तथा सामुल्लाह सेनवारीले १८ रन जोडे । कप्तान नाबी ३४ तथा साफिक उल्लाह २१ रन बनाएर आउट भए ।