अफगान तालिबानका नेता मन्सुर मारिएको अमेरिकाको दावी

201
  •  
  •  
  •  

Mullah Akhtar Mansourकाठमाडौँ, ९ जेठ(एजेन्सी) : अमेरिकाले अफगान तालिबानका मुख्य नेता मुल्लाह अख्तर मन्सुर मारिएको दावी गरेको छ । अमेरिकाका अनुसार मन्सुर र अर्का एक व्यक्ति चढेको गाडीलाई लक्षित गरेर गरिएको अमेरिकी हवाई आक्रमणमा मारिएका हुन् ।

अमेरिकी रक्षा मन्त्रालयले पाकिस्तानको सीमा नजिकै अफगानिस्तानमा गरिएको उक्त आक्रमणमा मन्सुर मारिएको दावी गर्दै आक्रमणको अन्तिम परिणामबारे जानकारी हासिल गर्ने पहल भइरहेको जनाएको छ ।

मन्सुरले जत जुलाईमा अफगान तालिवानको नेतृत्व लिएको बताइएको छ । हवाई आक्रमण अहमद वालमा स्थानीय समानुसार दिउँसो ३ बजेतिर भएको र त्यसलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत स्वीकृति दिएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसले दिएको जानकारी अनुसार उक्त आक्रमणका विषयमा पाकिस्तान र अफगानिस्तानलाई आक्रमण भएको केही बेरमा नै जानकारी दिएको थियो । रक्षा मन्त्रालयका प्रवक्ता पिटर कुकले भने, ‘हामी आक्रमणको बारेमा थप जानकारी लिने प्रयास गरिरहेका छौँ । अन्तिम परिणामबारे जानकारी हासिल गरेपछि हामी उक्त सूचना प्रवाह गर्ने छौँ ।’

यस्तै, एक तालिबानी कमान्डरले रोयटर्ससँग कुरा गर्दै मन्सुर नमारिएको दाबी गर्दै भनेका छन्, ‘हामीले कुनै आधार नभएको सूचनाबारे थाहा पाएका छौँ । यस्तो सूचना आएको यो पहिलो पटक होइन । म के मात्र भन्न चाहन्छु भने मन्सुर मारिएका छैनन् ।’


  •  
  •  
  •