छलेर सम्बन्धन दिने दाउ

93
  •  
  •  
  •  

काठमाडौ, चैत्र १४ – त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई छलेर उपत्यकाभित्रका प्रस्तावित मेडिकल कलेजहरूलाई सोझै सम्बन्धन दिने तयारी गरेको खुलासा भएको छ । त्यसका लागि त्रिविका उपकुलपति हीराबहादुर महर्जनद्वारा गठित टोलीले स्थलगत निरीक्षण गरी प्रस्तावित मेडिकल कलेजहरू सम्बन्धन दिन योग्य भएको शंकास्पद प्रतिवेदनसमेत बुझाइसकेको छ ।

आईओएमले असहयोग गरेको भन्दै त्रिवि आफैंले सम्बन्धनका लागि सार्वजनिक प्रस्ताव मागेर निरीक्षण टोली खटाएको थियो । मापदण्ड र पूर्वाधारमा त्रुटि देख्दादेख्दै निरीक्षण टोलीले सबैलाई सम्बन्धन दिन सिफारिस गरेको छ । त्रिविले २०७० असोजमै सम्बन्धन दिनका लागि सार्वजनिक सूचना आहवान गरेको थियो ।

आईओएम स्रोतका अनुसार डा. करविरनाथ योगी नेतृत्वको टोलीले काठमाडौं नेसनल मेडिकल कलेज, केके ओलीको टोलीले मनमोहन मेमोरियल मेडिकल कलेज, शशि शर्माको टोलीले पिपुल्स र डीएन साह नेतृत्वको टोलीले नेपाल प्रहरीको प्रस्तावित मेडिकल कलेजको अनुगमन गरेका थिए । विवादका कारण प्रहरी मेडिकल कलेजको प्रतिवेदन पेस नभए पनि अन्यका हकमा निरीक्षण टोलीले प्रतिवेदन बुझाएका थिए । ‘नाममात्रैको निरीक्षण थियो,’ स्राेतले भन्यो, ‘उपकुलपति महर्जनको जे आदेश थियो त्यहीअनुसार प्रतिवेदन तयार भयो,’ स्रोतले भन्यो ।

सय रोपनीको मेडिकल हाता र पर्याप्त बिरामीको चाप हुनुपर्ने आधारभूत मापदण्ड पालना गर्न नसकेको काठमाडौं नेसनल मेडिकल कलेजको निरीक्षण प्रतिवेदनमा मापदण्ड पूरा गरेको उल्लेख छ । हाउजिङका लागि डिजाइन गरी निर्मित भवनमा मेडिकल कलेज स्थापना गरिएको छ । डा. योगी नेतृत्वको टोलीले उक्त मेडिकल कलेज सम्बन्धनका लागि योग्य भनी प्रतिवेदन दिएको आईओएम स्रोतले बतायो । ‘तोकिएको जग्गा, बिरामीको चाप र अध्यापकहरूको मापदण्ड कुनै हालतमा पूरा भएको छैन,’ स्रोतले भन्यो, ‘पहुँच र दबाबका भरमा प्रतिवेदन बुझाइएको छ ।’

प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेका योगीले काठमाडौं नेसनल मेडिकल कलेजको निरीक्षणपछि सबै पूर्वाधार पुगेको भनी प्रतिवेदन बनाएको स्वीकार गरे । ‘काठमाडौं नेसनलले वीरगन्जकै नेसनल मेडिकल कलेजका प्राध्यापकहरू ल्याएको थियो,’ योगीले कान्तिपुरसित भने, ‘मेडिकल काउन्सिलको नम्र्सले ल्याउन हुँदैन भनेको छैन, मैले कसरी रोक्न मिल्छ ?’ निरीक्षणका क्रममा पेस भएको लालपुर्जा हेर्दा करिब २ सय रोपनी जग्गा देखिएको उनले बताए । घट्टेकुलोको भवनबाहेक चक्रपथ बाहिरको जग्गाको लालपुर्जा देखाइएको उल्लेख गर्दै उनले भने, ‘१० किलोमिटरभित्र थियो थिएन, म नाप्न गइनँ ।’ कलेजको मूल भवनको १० किमिभित्र आवश्यक सबै भौतिक संरचना हुनुपर्छ, तर काठमाडौं नेसनल मेडिकल कलेजको जग्गा भने १२ किमिभन्दा टाढा रहेको स्रोतले बतायो ।

स्रोतका अनुसार मेडिकल कलेजहरूको निरीक्षण टोलीको छनोटसमेत सञ्चालकहरूको रोजाइमा भएको थियो । एमाले समर्थक चिकित्सक केके ओली नेतृत्वको चिकित्सक टोलीले एमाले नेताहरू नै लगानीकर्ता रहेको मनमोहन मेमोरियल मेडिकल कलेजको निरीक्षण गरेका थिए ।

‘मनमोहनलाई पनि सबै मापदण्ड पूरा गरेको अस्पताल भनी प्रतिवेदन बुझाइएको छ,’ आईओएम सम्बद्ध स्रोतले भन्यो, ‘एनाटोमी, बायोकेमेस्ट्री र फिजियोलोजीमा मापदण्डअनुसार हुनुपर्ने जति चिकित्सक नै छैनन् ।’ मेडिकल काउन्सिलका एक चिकित्सकका अनुसार स्किल्स ल्याबलगायत अन्य पूर्वाधार पुर्‍याउन नसकेको मनमोहन भौतिक पूर्वाधारमा मात्रै सक्षम छ ।

सम्बन्धनको दौडमा केही पछि रहेको पिपुल्स मेडिकल कलेजको निरीक्षण टोलीको नेतृत्व गरेका शशि शर्मा नेपाल मेडिकल काउन्सिलका पूर्वउपाध्यक्षसमेत हुन् । मेडिकल काउन्सिल सम्बद्ध स्रोतका अनुसार पिपुल्सको निरीक्षणका क्रममा नोबेलकै उपकरण ओसारिएको थियो भने एउटै चिकित्सक दुईतिर देखाइएको थियो ।

पिपुल्सको आशयपत्र -लेटर अव इन्टेन्ट) का क्रममा मेडिकल काउन्सिलमा त्यतिबेला उपाध्यक्षसमेत रहेका शर्माले विशेष पहल गरेका थिए । दुई वर्षअघि छोटो समयका लागि निमित्त प्रमुख भएका रतीन्द्र श्रेष्ठले पिपुल्सलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाए पनि डिन प्रकाश सायमीले त्यसलाई रोकेका थिए ।

नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष दामोदर गजुरेलले कतिपय अवस्थामा निरीक्षण टोलीबाटै समस्या देखिएको स्वीकार गरे । ‘केन्द्रबाट निरीक्षणमा पठाइन्छ, तर कतिपय अवस्थामा वास्तविकभन्दा फरक विवरण आएको पनि हुन सक्छ,’ गजुरेलले भने, ‘पर्याप्त स्रोत साधन नहुने भएकाले कतिपय अवस्थामा टोलीले बुझाएको प्रतिवेदनका आधारमा निर्णय गर्नुपर्ने हुन्छ ।’ अध्यापकको अभावका कारण नै आफ्नो कार्यकालमा एउटा अध्यापकले अर्कोमा पनि निश्चित समय अध्यापन गर्न पाउने सुविधा दिइएको उनले बताए ।

त्रिवि केन्द्रीय कार्यालयका अनुसार राजनीतिक र अन्य शक्तिकेन्द्रको चाहनामा छनोट भएका निरीक्षण टोली प्रमुखमध्ये शशि शर्मा चिकित्साशास्त्र अध्ययन संस्थानका डिनसमेत भएका थिए । आफैंले पेस गरेको प्रतिवेदन आफैंले सदर गरेर सम्बन्धन दिने तयारीमा रहेका उनी गतवर्ष डा. केसीकै आन्दोलनका कारण राजीनामा दिन बाध्य भएका थिए । अर्का चिकित्सक ओलीले एमाले केन्द्रीय नेताहरूकै स्वार्थअनुसारको निरीक्षण प्रतिवेदन बुझाएका थिए ।

प्रस्तावित मेडिकल कलेजको निरीक्षण प्रतिवेदनबारे पनि त्रिवि र आईओएमबीच मतभेद छ । त्रिवि स्रोतले आईओएममा प्रतिवेदन पठाइसकिएको जनाएको छ । तर आईओएमले त्रिविबाट त्यस्तो कुनै प्रतिवेदन नआएको दाबी गरेको छ । प्रतिवेदन र सम्बन्धन प्रक्रियाबारे त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणानिधि न्यौपानेले ‘यसबारे नबोल्नु नै उचित हुने’ प्रतिक्रिया दिए ।

निरीक्षण टोलीमा रहेका चिकित्सक योगीले मेडिकल कलेजको मापदण्ड र निरीक्षण प्रक्रियाबारे बजारमा मनोमानी आरोप/प्रत्यारोप चलिरहेको दाबी गरे । ‘जे जसरी व्याख्या गरे पनि हुने परिस्थिति भएको छ,’ गम्भीर रूपमा छानबिन भए सबैजसो मेडिकल कलेजमा कुनै न कुनै रूपमा समस्या देखिने उल्लेख गर्दै उनले भने, ‘खोज्ने हो भने सबैको जीउ फुस्रो छ ।’

अनशनरत चिकित्सक केसीको स्वास्थ्यस्थितिबारे आफू गम्भीर भएर प्रधानमन्त्रीलाई सहयोग गरिरहेको दाबी गर्दै उनले यसक्रममा आफूलाई खलनायकको रूपमा चित्रित गरिएको बताए । ‘मलाई पनि माफिया भन्लान्,’ उनले भने, ‘तर आईओएममा काम गर्दा अरूले औंला ठडयाउन सक्ने गरी एउटा पनि गल्ती गरेको छैन ।’

साभार : कान्तिपुर TRIBHUWAN_UNIVERSITY_STORY_07


  •  
  •  
  •