काठमाडौ, ३० साउन (ओएनएस) : अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान शुक्रवार प्रभावित भएका छन् । वर्षाका कारण शुक्रवार बिहानको सबै पर्यटकीय र दुर्गम गन्तव्यका उडान प्रभावित भएको विमानस्थलले जनाएको छ ।
धावनमार्गमा अत्याधिक पानी परेको र ‘भिजीविलिटी’समेत नभएका कारण निजी सेवा प्रदायकले दुर्गमका गन्तव्यमा उडान नगरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल कार्यालयले जानकारी दिएको छ । नेपाल वायु सेवा निगमले सुगम गन्तव्यमा उडान गरेको, निजी सेवा प्रदायक बुद्ध र यति एयरले दिउँसो भैरहवा र नेपालगन्ज उडान गरेपनि अन्य स्थानमा भने उडान गरेका छैनन् ।
आन्तरिक उडान हुन नसक्दा विमानस्थलको आन्तरिक कक्षमा यात्रुको ठूलो भीड लागेको थियो । सामान्यतया हिमाली दृश्यावलोकनको उडान विहान ६।०० बजे नै हुने गर्दछ । आज ती कुनै पनि उडान हुन नसकेको र अन्य दुर्गम स्थानको सबै उडान प्रभावित भएको हो । विमानस्थलबाट आन्तरिक गन्तव्यमा दैनिक एकसयभन्दा बढी उडान हुने गरेको छ ।