शहीद स्मारक ‘ए’ डिभिजन लिगः आर्मी शीर्ष स्थानमा

44
  •  
  •  
  •  

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गतको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरेका थिए । खेलको पाँचौँ मिनेटमा कप्तान भरतले गोल गरे । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन् ।

त्यसैगरी खेलको ५४औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए । जीतसँगै आर्मीले शीर्ष स्थानमा एक अंकको अग्रता बनाएको छ ।

आर्मीले १२ खेलमा २९ अंक जोडेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अंक रहेको छ । आठ अंक रहेको ब्रिगेड १२ औँ स्थानमा छ ।


  •  
  •  
  •