नेपालमा प्रतिवर्ष २ हजार एचआईभी संक्रमित थपिदैँ

सन्दर्भ : विश्व एड्स दिवस
1020
  •  
  •  
  •  

काठमाडौं, १५ मंसिर(ओएनएस) । नेपालमा प्रतिवर्ष दुई हजारले एचआईभी संक्रमित थपिदै गएका छन् ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि ०७४/७५ को अवधिमा प्रतिवर्ष दुई हजारले नयाँ एचआईभी संक्रमित थपिएका हुन् ।

केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२/७३ मा १७ हजार १ सय २७ जना एचआईभी संक्रमित भेटिएका थिए । जसमध्ये पुरुष ९ हजार ६ सय ७५ र महिला ७ हजार ६ सय ५४ जना थिए भने २ सय २ जना तेस्रो लिंगी थिए ।

यो संख्या बढेर आर्थिक वर्ष २०७३/७४ मा १९ हजार ३ सय ५१ पुगेको छ । यस अवधिमा १० हजार ३ सय ५१ जना पुरुष, महिला ८ हजार ९ सय ५० जना र ५० जना तेस्रो लिंगीमा एड्स देखिएको थियो ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा २१ हजार १ सय ८४ जना एचआईभी संक्रमित देखिएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

जसमध्ये १० हजार ८ सय २७ पुरुष, १० हजार २ सय १५ महिला र १ सय ६ जना तेस्रो लिंगी रहेका छन् ।
संक्रमित मध्ये अहिले १६ हजार ४ सय २८ जनाले नियमित रुपमा औषधि खार्इ राखेका छन् ।

बालबालिका पनि बढ्दो

केन्द्रका तथ्यांक अनुसार आर्थिक वर्ष ७४/७५ सम्म आइपुग्दा १ हजार एक सय ९२ बालबालिका एचआईभी देखिएकाे हाे।
जुन आर्थिक वर्ष २०७३/७४ मा ९ सय ६७ जना संक्रमित थिए भने २०७२/७३ मा ८ सय ७६ जना बालबालिकाहरु एचआईभी संक्रमित रहेको पाइएको थियो । तथ्यांकलाई हेर्दा संक्रमित बालबालिकाको संख्या बढ्दै गएको देखिन्छ ।

१३ सय ६ जनाको मृत्यु

एचआईएभी संक्रमितमध्ये हालसम्म आइपुग्दा १३ सय ६ जनाको मृत्यु भइसकेको केन्द्रको तथ्यांकमा उल्लेख छ । संक्रमितहरु मृत्यु भएपनि जानकारीका लागि नआउने गरेको केन्द्रको भनार्इ छ ।

केन्द्रका तथ्यांक अधिकृत बीर बहादुर रावल भन्छन्, ‘अझै पनि एचआईभी पीडितहरु समाजमा खुलेर आउन सक्ने स्थिति छैन् । हाम्रो अनुमान ३१ हजार २० जना संक्रमित छन् भन्ने हो । अबको दुई वर्षभित्र हामीले सो संख्या पत्ता लगाउनु हो । लुकेका केसहरुलाई विभिन्न विधि प्रयोग गरेर पत्ता लगाउने हाम्रो लक्ष्य छ ।’

लागुऔषध प्रयोगकर्ता र यौनकर्मी बढी संक्रमित
केन्द्रका निर्देशक डा. तारानाथ पोख्रेलले नेपालमा लागुऔषध प्रयोगकर्ता र यौनकर्मीहरु नै बढी एड्सबाट संक्रमित भएको बताउँछन् ।

पोख्रेल भन्छन्, ‘लागुऔषध प्रयोगकर्ता जसले सुईहरु प्रयोग गर्छ उनीहरुमा बढी संक्रमित देखिएका छन् । अर्को यौनकर्मीहरु, अल्पसंख्यक, वैदेशिक रोजगारमा जाने पुरुषहरु संक्रमित छन्।’

सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको पोख्रेल बताउँछन् ।


  •  
  •  
  •