अधिकारी दम्पतीलाई २४ घन्टाभित्र खाना खुवाउन आदेश

79
  •  
  •  
  •  

काठमाडौं ११ भदौ ।
छोराका हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेर पछिल्लोपटक तीन सय ६ दिनदेखि अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र पत्‍नी गंगामायालाई २४ घन्टाभित्र ‘जसरी पनि’ खान खुवाउन सरकारले वीर अस्पताललाई निर्देशन दिएको छ। उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका अधिकारी दम्पती त्यहीं अनशनमा छन्।

लामो अनशनका कारण अधिकारी दम्पतीको स्वास्थ्य अवस्था निकै कमजोर भएपछि सरकारका मुख्य सचिव लीलामणि पौडेलले मंगलबार आफ्नै कार्यकक्षमा विशेष बैठक डाकेर वीर अस्पताल प्रमुख र पदाधिकारीलाई खाना खुवाएर अनशन तोडाउन लिखित निर्देशन दिएका हुन्।

निर्देशन पाएपछि वीरका चिकित्सक परामर्शमा जुटेका छन्। बैठकमा अधिकारी दम्पतीको उपचारमा खटिएको विशेषज्ञ डाक्टरको टोलीले यसअघि पनि पटकपटक खान खुवाउने प्रयास गरेको तर असफल भएको भन्दै सरकारको सहयोग मागेका थिए।

सरकारको उपस्थितिबिना खाना खुवाउन नसक्ने चिकित्सकहरूले बताएपछि मुख्य सचिव पौडेलले आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता जनाएका थिए। स्रोतका अनुसार सरकारका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालय र वीरका पदाधिकारीले बुधबार साँझसम्म अधिकारी दम्पतीलाई खाना खुवाउने तयारी गरिरहेका छन्।

मन्त्रालय स्रोतले भन्यो, ‘कसैले भड्काउला या अनावश्यक राजनीति होला भनेर बाहिर नल्याइएको हो, बुधबार साँझ सम्म जसरी हुन्छ खान खुवाउने भन्ने सहमति भइसकेको छ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमानसिंह मल्लले अदालतको आदेशलाई आधार मान्दै बुधबार साँझसम्म अधिकारी दम्पतीलाई खाना खुवाउन लिखित निर्देशन भएको बताए। उनले भने, ‘वीरले कतिबेला, कसरी के खुवाउने हो त्यो हामीलाई जानकारी गराउनुहोस् भनेका छौं। त्यसपछि हाम्रो सहयोग आवश्यक परेमा त्यहाँ गएर उनीहरूलाई खाना खुवाउछौं।’

मुख्‍य सचिवले डाकेको बैठकमा त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालका विशेषज्ञ डाक्टर मिलाएर गठन गरिएको मेडिकल टिमले अधिकारी दम्पतीलाई बचाउन कठिन भइरहेको जानकारी गराएका थिए। ‘मुख्य सचिवले हामीलाई जसरी हुन्छ खान खुवाउन निर्देशन दिनुभएको छ,

तर अधिकारी दम्पतीले हामीले भनेको कुनै हालतमा मान्दैनन्’, वीर अस्पतालका प्रमुख डा. स्वयंप्रकाश पण्डितले भने, ‘हामी हार खाइसकेको छौं, मानवीयता जोडिएको विषय भएकाले औषधि भने जबरजस्ती खुवाएर बचाइरहेका छौं।’

लिखित निर्देशन हातमा परेपछि मेडिकल टिमको बैठक पनि बुधबार बस्ने तय भएको छ। झन्डै तीन घन्टा चलेको बैठकमा अधिकारीको दम्पतीको स्वास्थ्य, अनशन र अधिकारी दम्पतीका छोरा कृष्णप्रसादका हत्यारालाई कसरी कारबाही गर्ने भन्‍ने विषयमा छलफल भएको थियो। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •